आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाली बलर करण केसी चम्किएपछि विपक्षी टोली सुरुवातमै धर्मराएको छ।
टस जितेर फिल्डिङ रोजेको नेपालका बलर केसीले दोस्रो ओभरमै लगातार २ विकेट लिए भने खेलको सातौ र नबौँ ओभरको बलिङमा पनि केसीले अन्य दुई खेलाडीलाई पेभेलियनको बाटो देखाएपछि अहिले अमेरिका १४ ओभरको खेल सकिँदा जम्मा ३३ रन जोड्न सफल भएको छ।
जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलको दोस्रो ओभरमा करन केसीले लगातार दुई विकेट लिएपछि ७ र ९ ओभरमा थप दुई गरी कुल ४ विकेट मात्र लिएनन् उनले ७ ओभर बलिङ गर्दा ३ मेइडन ओभर बलिङ गर्दै जम्मा ११ रन दिएका छन्,
जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो। पहिलो खेलमा अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो। नेपाल र अमेरिकाबीच हालसम्म भएका छ एकदिवसीय खेलमा नेपालले तीन र अमेरिका दुई खेलमा विजयी भएका थिए भने एउटा खेल बराबरी भएको थियो।
एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता छ। समूह ‘ए’मा नेपालसहित जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् भने समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन्।
सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन्। सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन्।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी छन्।