हिमाल दैनिक
सानो त्रुटिले नै मुलुक र मुलुकको लोकतन्त्र संकटमा पर्न सक्छः प्रम दाहाल
जी.पी. कोइराला मेमोरियल कलेजको १२ औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्बिर: प्रदीपराज वन्त/रासस

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान अवस्थामा अलिकति पनि हेलचेक्राइ भयो भने देशको भाग्य भविष्य नै संकटमा पर्ने खतरापूर्ण परिस्थिति देखिएको अभिव्यक्ति दिएका छन्।

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा संचालित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सवका साथै कोइरालाको शतवार्षिकीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आन्तरिक र बाह्य परिस्थीति हेर्दा अहिले लोकतन्त्र र राष्ट्रका लागि खतरा उत्पन्न भएको भन्दै अलिकति पनि हेलचेक्राइ गर्ने हो भने देशको भाग्य भविष्य नै संकटमा पर्ने बताए।

चौतर्फी समस्याले गाँजिएको मुलुकलाई सामान्य सुधारबाट समस्या समाधान हुन नसक्ने अवस्था रहेको भन्दै उनले देशका लागि अन्तिम लडाई लड्नुपर्छ भन्ने उदेश्यकासाथ आफुले जसरी पनि प्रधानमन्त्री बन्न प्रयत्न गरेको र सफल भएको बताए।

प्रधानमन्त्री पदाहालले देशमा देखिएका बिसंगति र विकृतिको अन्त्य गर्नका लागि आफु दृढ रहेको र यसका लागि कांग्रेससँग सहकार्य आवश्यक ठानेरै गठबन्धनलाई बलियो बनाउन लागेको धारणा व्यक्त गरे।

त्यस्तै उनले कांग्रेस र कम्युनिष्ट मिलेर नै हालसम्मको परिवर्तन सम्भव भएकाले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने जिकिर गरे।

अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोशिस भइरहेको भन्दै जनताको अवस्था बदल्न आत्मसमीक्षा गर्न जरुरी रहेको उनले बताए।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय शिक्षा ऐनजस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्ने र विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त बनाउनुपर्ने विचार व्यक्त गरे।

उनले ऐन पारित नभएर मात्रै शैक्षिक क्षेत्रको सुधार नहुने भन्दै प्रयाप्त बजेट र प्राथमिकताका आधारमा शैक्षिक क्षेत्रलाई अघि बढाउनुपर्नेमा जोड दिए।

उनले विश्वविद्यालय थलापरेको अवस्थामा रहेको र यसको दोष राजनीतिक दलहरुले नै लिनुपर्ने धारणा राखे।

 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update