हिमाल दैनिक
पुस्तक विमोचनमा बोलेका कुरालाई विक्षिप्त विपक्षीहरुले बबण्डरको मुद्दा बनाउँदैछन्ः प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफुले बोलेको कुरालाई लिएर विक्षिप्त भएका विपक्षीले बबण्डर गर्न खोजेको आरोप लगाएका छन्।

बुधबार काठमाडौंको कीर्तिपुरमा अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको तेश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रितम सिंहको पुस्तकमा रहेका बिषयमा आफुले दिएको अभिव्यक्तिप्रति विपक्षीले बबण्डर गर्न खोजेको आरोप लगाएका हुन्।

केहि दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री दाहालले सिंहले पुस्तकमा लेखिएको बिषयलाई आफुले जस्ताको तस्तै राखेको भएपनि त्यसलाई अतिरञ्जीत गर्न खोजिएको र त्यसले आफुलाई कुनै फरक नपर्ने जिकिर गरे।
उनले अनावश्यक बबण्डरको बेलुन झट्टै फुट्ने दाबी समेत गरे।

सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको गरिरहेको भन्दै प्रधानमन्त्री दाहालले सरकारको काम देखेर विपक्षीहरु तर्सिएको आरोप समेत लगाए।

उनले माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्न लागेको र बृहत एकतासहित अगाडि बढ्ने तयारी भइरहेको जानकारी समेत दिए।

माओवादीलाई घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेकाले  २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्ने उनले बताए।

उनले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुने भन्दै सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरुलाई जनताले ठिक पार्ने दाबी पनि गरे।

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update