हिमाल दैनिक
मिटरब्याजीलाई कार्वाही गर्ने ऐन रोक्न संसद अवरुद्ध गरिँदैछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको आरोप लगाएका छन्।

बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आरोपसहितको दाबी गरेका हुन्।

व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले व्यक्त गरेको कुरालाई उठाएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संघीय संसदका दुबै सदनको बैठक अवरुद्ध गर्ने घोषणा गरेलगत्तै प्रधानमन्त्री दाहालले भने, ‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवस भनेको कुरालाई बंग्याएर संसद अवरुद्ध गर्ने कोशिश हुँदैछ। खासमा यसको अर्थ अर्कै छ।

मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियो। कतिपय दललाई मिटरब्याजीलाई कार्वाही गर्न खोजेको कुरा मन परेको छ। भ्रष्टाचारीलाई कार्वाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ।’

उनले थप्दै भने, ‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ।’

विगतमा माओवादीभित्रको आन्तरिक विवाद र विभाजनले कमजोर बनाएको तर्फ लक्षित गर्दै उनले भने, ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौँ। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ। युवाहरूलाई संगठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्त्वपूर्ण कुरा हो। युवाहरूमा विश्वास गरेर हामी नयाँ ढंगले अगाडि बढ्छौँ। तपाईं महिला युवाहरू पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुहोस्।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको पनि दाबी गरे।

उनले भने, ‘विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ। सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।’

प्रकाशित मिति: बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update