हिमाल दैनिक
कांग्रेस केन्द्रीय समिति बैठक दोस्रो दिन पनि प्रत्यक्ष प्रसारण जारी

नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक बुधबार पनि सामाजिक संजालबाट प्रत्यक्ष प्रशारण जारी रहेको छ।

विगत लामो समयदेखि केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा पार्टीभित्र देखिएको असन्तुष्टि र आलोचनाका अतिरिक्त कतिपय सदस्यहरुले पार्टी बैठकभित्र बोलेका भन्दा फरक विषयवस्तु बाहिर मिडियामा बोल्ने र नेतृत्वको आलोचना गर्ने क्रमले निरन्तरता लिएपछि सभापति शेरबहादुर देउवाले यसपटक पार्टीको बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन्।

मंगलबारको बैठकमा महामन्त्रीद्वयले बैठकको एजेण्डा पेश गरेलगत्तै उपसभापति पूर्णबहादुर खड्का, नेता गोपालमान सिंह श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना, रमेश लेखक लगायतले विभिन्न प्रतिवेदन पेश गरी रोकिएको बैठक बुधबार बिहान ११ बजेबाट सुरु भएको छ।

आजको बैठकमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश सभापति ललितबहादुर शाही लगायतले आफ्ना धारणा राखेका छन्।

सभापतिले बैठकलाई व्यवस्थित गर्न प्रत्येक वक्तालाई ७ मिनेट बोल्न समय दिएका छन् जसमा ६ मिनेट बोलिसकेपछि जनाउ घण्टी दिएर ७ मिनेटमै माइकको लाइन काटिने व्यवस्था गरिएको छ।
 
मंगलबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी दिएका थिए भने महामन्त्री गगनकुमार थापाले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

सो क्रममा थापाले यस वर्ष साउनदेखि २०८१ असार ३१ गतेसम्म एक वर्षको अवधिलाई ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ राष्ट्रिय अभियान गरिने प्रस्ताव गरेका थिए।

एक वर्षको अवधिमा कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ अभियान गरिने उनले बताए।

बैठकमा बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए।

यस्तै बैठकमा प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा जानकारी गराउदै प्रमुख सचेतक रमेश लेखकले राजनीतिक रुपले गठबन्धन परिवर्तन भएका कारण प्रमुख प्रतिपक्ष आक्रामक रहेको र रास्वपा तथा राप्रपा अपरिपक्व देखिएको टिप्पणी गरेका थिए।

त्यस्तै सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै कांग्रेसले सरकारमा बसेर कुनै गल्ती कमजोरी नगरेको दाबी गरेका थिए। उनले जनताको भावनालाई केन्द्रमा राखेर काम गरिरहेको जिकिर गरे।

बैठकमा  छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन्, जसमा पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन लगाएत छन्।

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update