हिमाल दैनिक
प्रधानमन्त्री दाहाल साउन ७ गते इटाली भ्रमणमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको इटाली भ्रमणको कार्यतालिकासहितको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकटेकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री दाहाल साउन ७ गते त्यसतर्फ जाने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसाल लगायतको प्रतिनिधित्व रहने उनले बताइन्।

साथै बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै बैठकले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा सोही अस्पतालका चिकित्सक डा रवि मल्ललाई नियुक्त गरेको मन्त्री शर्माले जानकारी दिइन्।

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update