नेपाली कांग्रेसका प्रखरवक्ता एवं केन्द्रीय सदस्य ध्रुब वाग्लेले पार्टीका युवा पदाधिकारीहरुलाई सस्तो लोकप्रियताका लागि आफ्नै नेताहरुविरुद्ध प्रतिशोध र कुण्ठा पोख्ने कार्य बन्द गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको चौथो दिन बोल्दै नेता वाग्लेले अहिले सामाजिक संजालमा फ्रेस भ्यालुको लोभमा रियल भ्यालु भुल्नेगरी नलाग्न पनि सुझाव दिए।
साथै उनले कतिपय अन्तर्राष्ट्रिय संघ, संस्थाहरु जस्तै जर्ज स्वारेज फाउण्डेशन जस्ता ज्ञात, अज्ञात संस्थाको लगानीमा उदारवादको नाउँमा अराजकता फैलाउने र कांग्रेसविरुद्ध परिचालन भइरहेको आरोप समेत लगाए।
प्रस्तुत छ, नेता वाग्लेले बैठकमा व्यक्त गरेको धारणाको अंशः
आफ्ना आफ्ना प्रस्तुतीहरु, आफ्ना आफ्ना विचारहरु आफ्नै ढंगमा राखिरहँदा पनि यो बैठक बडो शालिन बडो सौम्य र सभ्य ढंगबाट अगाडि बढिरहेको छ। म सभापति लगायत पदाधिकारी सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु।
साथीहरु आज मलाई बच्चाकालमा पढेको अर्थशास्त्रको एउटा नियमको याद आइरहेको छ। बडो रमाइलो छ। हामी सबैले पढेका होउँला। त्यसलाई ग्राहम्स ल भनिन्छ।
त्यो ग्राहम्स लमा के छ भने, जबजब बजारमा कमसल सीक्काहरु प्रचलन आउँन थाल्दछन्, तब तब बजारबाट असली सीक्काहरु गायव हुन थाल्दछन्।
यो बडो निर्दयी नियम छ। राजनीतिमा पनि यो देखिन्छ। किन हामीलाई थाहा छ, सुनको मुद्रालाई चाँदीले, चाँदीको मुद्रालाई तामाले, तामाको मुद्रालाई ढलौटले, ढलौटको मुद्रालाई पित्तलले र पित्तलको मुद्रालाई कागजले विस्थापित गरेको हामी सबैले बुझेका छौँ।
त्यो कागजको मुद्रालाई कच्याककुच्चुक पारिदिनु भयो भने त्यसको रियल भ्यालु केही पनि छैन। एक रुपैयाँमा पनि बिक्दैन। तर, त्यसमा लेखिएको छ, यो पाँच सय रुपैयाँ हो भनेर। त्यसकारणले दुइटा भ्यालु हुन्छ।
हरेक राजनीतिमा पनि, मान्छेको जीवनमा पनि दुइटा भ्यालु मध्ये एउटा रियल भ्यालु हुन्छ, अर्को फ्रेस भ्यालु हुन्छ। यो फगत फ्रेस भ्यालु मात्रै बनाउने अभियानमा मुलुकका केही उदयमान नयाँ राजनीतिक दलहरु लागेका छन्।
जसको रियल भ्यालु छैन। र त्यही प्रवृत्तिको बाच्छिटा अनि हाम्रो पार्टीभित्र पनि विस्तारै अलिकति कहीँ कतै पर्दैगरेको त होइन? एकदमै आफ्नो रियल भ्यालुलाई बढाउनु भन्दा आफ्नो फ्रेस भ्यालुलाई बढाउनका लागि अनावश्यक रुपमा सामाजिक सञ्जालको प्रयोगको माध्यमबाट धेरै प्रकारका कुण्ठाहरु, विद्वेशहरु, प्रतिशोधहरु पोख्न कामहरु भइरहेको अनुभव मैले गर्न थालेको छु।
म आदरणीय नेता गणलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, फ्रेस भ्यालुले हामीलाई कहीँ पुर्याउँदैन। फ्रेस भ्यालु र रियल भ्यालु राजनीतिमा हुन जरुरी छ।
र अर्को कुरा मैले भन्न चाहेँ, संगठित र योजनाबद्ध रुपमा अभियानका रुपमा कांग्रेसका विरुद्ध सामाजिक संजालमा प्रहार छेडिएको छ। भनिन्छ, सुनिन्छ, यसका पछाडि अन्तर्राष्ट्रिय संगठनहरु, उदारवादको नाममा अराजकताबादलाई प्रोत्साहन दिने जर्ज स्वारेज फाउण्डेसनका पैसाहरु, ज्ञात, अज्ञात धार्मिक सम्प्रदायबाट पठाइएका पैसाहरु नेपालको राजनीतिमा प्रयोगमा आएको छ भन्नु कुराहरु पनि सुनिएको छ।
त साथीहरु, आज हामी हत्तप्रत भएका छौँ, किम्कर्तव्यविमूढ र निरिह जस्ता देखिएका छौँ। यत्रो इतिहास बोकेको पार्टी, जसले नेपालको राजनीतिको ऐतिहासिक कालखण्डमा पटक पटक निर्णायक संघर्ष गर्यो, जसको गौरवमय संघर्षको इतिहासका पानाभित्र थुप्रै शहिदहरुको बलिदान छ। यो पार्टीमा म आज निर्धक्क भन्न चाहन्छु, हिँजो अध्यारो रात थियो। पञ्चायतकालीन त्यो अध्याँरो रातमा दूर क्षितिजसम्म उज्यालाका साना साना कण पनि देखिन्थिएन।
त्यो बेलामा केही सहासी युवाहरुः चाहे त्यो सिन्धुलीको दुम्जाबाट आएको विपिन कोइराला होस्, चाहे त्यो रामेछापबाट झोला बोकेर आएको शिवबहादुर खड्का होस्, चाहे त्यो डडेल्धुराको निर्जन जंगल÷ गाउँबाट काठमाडौं विद्यार्थीका रुपमा पढ्न आएको शेरबहादुर देउवा होस्, चाहे गोपालमान र रामचन्द्र पौडेलहरु हुन्, उनीहरुले आफ्नो भर्भराउँदो वैैशालु जीवनलाई जेलका चिसा छिँडीहरुमा समापन गर्दै यो पार्टीलाई प्रजातन्त्रको संघर्षको दीयोलाई निभ्नबाट बचाएको उनीहरुले हो।
आज यो गौरवमय इतिहास बोकेका प्रत्येक पार्टीका कार्यकर्ता र नेताहरु यत्ति अवाक र हतास, हत्तप्रद हुनु पर्ने? सामाजिक संजालले गरेका फजुल शब्दहरुको आतिशवाजीबाट डराएर हामी भाग्नु पर्ने? प्रताडित भएर बाँच्नु पर्ने किन भएको छ?
किन हामीहरु बनाउँदैनौँ, तिनिहरुको विरुद्धमा लड्ने संयन्त्र? हामीसँग पनि छन् सामाजिक संजालमा ट्रोल गर्ने आर्मी ध्रुब वाग्लेको आफ्नै, मीन विश्वकर्माको आफ्नै, विश्व र गगनजीको आफ्नै। यो हुन सक्दैन।
हाम्रा व्यक्तिगत एकाण्टहरु हुन सक्लान् तर, पार्टीले सामूहिक रुपमा हामी विरुद्ध लगाइएको लाञ्छनाहरुको विरुद्ध प्रहार गर्नका लागि हामीले त्यो संयन्त्र बनाउन जरुरी छैन?
आज केपी ओलीजीले कही बोल्यो भने, उनका सम्पूर्ण साइबर सेना, ट्रोल आर्मीहरु एकैचोटी खनिन्छन् तर, हामी त आफ्नै नेताहरुलाई मज्जाक उडाएर, गाली गरेर पार्टी जहाँ सुकै पुगोस् तर मेरो इमेजमात्रै बचोस् भन्ने धुनमा हामीले जुन काम गर्न खोजेका छौँ, त्यसले हाम्रो पार्टीको शाख र गरिमा बढ्दैन।
साथी हो, मैले भन्न चाहेँ, कि आज पार्टीभित्र केही सुधारहरुको जरुरी छ। परिवर्तन जरुरी छ। भन्न त शब्दहरु रुपान्तरणका आएका छन्, पुस्तान्तरणका आएका छन्। हस्तान्तरणका आएका छन्। यी यावत शब्दहरुबाट म अल्लिकति टाढा छु।
तर, म निर्धक्क भन्न चाहन्छु, पार्टीभित्र सुधारको खाँचो छ, सुधार गरिनु पर्दछ। त्यसको लागि मेरो समय पनि सिद्धियो। अन्त्यमा मैले भनि हालेँ, आज बालकृष्णजी जेलमा हुनुहुन्छ।
२०३७ सालमा जब म नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिएँ, मैले बुटवलमा गरेको जिल्ला अधिवेशनबाट खाँडजीलाई मैले जिल्लाको नेविसंघको अध्यक्ष बनाएको थिएँ। आज उहाँ जेल जाँदा मलाई दुःख लागेको छ।
यो कानूनी राज्यमा कानूनको निर्णय हुनु पर्छ। अदालतको फैसलापछि मात्रै को दोषी हो को होइन भन्ने प्रमाणित हुन्छ। अहिले पनि अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिको उम्मेदवारको प्रचारमा हिँडेका छन्। उनी विरुद्ध दशौँ मुद्दाहरु छन्। र राष्ट्रघातको मुद्दा लागेको छ, ट्रेजनको मुद्दा। तर, यदी अमेरिकी अदालतले फैसला गर्यो भने उनी जेल जान्छन्, यदी अदालतले फैसला गरेन भने भोली चुनिएर राष्ट्रपति पनि हुन सक्छन्।
भोली कसैलाई मन लाग्यो, हामी हिड्दै वा चढ्दै गरेको गाडीमा कसैले दुई केजी गाँजा राखिदियो, पुलिसले पक्रिदियो। उसलाई थाहा छैन, अनि उविरुद्ध मुद्दा चलाइयो के त्यो अवस्थामा हामीले न्यायलयको निर्णय कुर्नु पर्छ कि पर्दैन? त्यसकारण यो कुरामा पनि विवेक राख्न म साथीहरुलाई आब्हान गर्दै विदा हुन्छु। धन्यवाद।