हिमाल दैनिक
सदनको अवरोध हटाउनेबारे प्रम दाहाल र ओलीबीच बालुवाटारमा वार्ता

विभिन्न माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अबरुद्ध पार्दै आएपछि सदनको अवरोध खुलाउने लगायतका समसामयिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

सोमबार अपरान्ह १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक बस्नुअघि बिहान अध्यक्ष ओलीलाई प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा बोलाएर छलफल गरेका हुन्।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार, दाहाल र ओलीबीचको भेटवार्ताका क्रममा संसदकोे अबरोध हटाएर बैठक सहज ढंगले संचालन गर्नेबारे छलफल भएको थियो।

बेला बेलामा सदनमा विभिन्न मुद्दा उठाएर सदनको कारबाही अवरोध गर्दै सरकारलाई असहयोगको रणनीति अपनाउँदै आएको एमालेले पछिल्लो समय हंङकङबाट अवैधरुपमा भित्रिएको करिब डेढ सय केजी सुन तस्करीको विषयमा गृहमन्त्रीको राजीनामा र यस घटनाबारे सरकारको जवाफसँगै संसदीय छानविन समितिको माग गर्दै सदनकोे कारबाही अवरुद्ध पारेको थियो।

यसका अतिरिक्त सत्ता गठबन्धनका नेता दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बिहान पनि ओलीसँग समसामयिक राजनीतिक विषयका अतिरिक्त कोशी प्रदेश सरकार गठनको विषयमा पनि छलफल गरेका थिए।

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update