हिमाल दैनिक
सुन काण्ड टुंगो नलाग्दै अर्का ठूलो काण्ड घट्यो भने पनि आश्चर्य नमाने हुन्छः कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन तस्करी प्रकरणको अनुसन्धान प्रक्रिया पनि अन्य काण्डहरु जस्तै टुंगोमा नपुग्दै सेलाउने त होइन भनि आशंका व्यक्त गरेका छन्।

बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण तथा पदस्थापना कार्यक्रममा बोल्दै कोइरालाले कुनैपनि काण्डले तार्किक निश्कर्षमा नपुग्दै सेलाउनुको पछाडि कुनै न कुनै किसिमले माथिल्लो तहका व्यक्तिको संलग्नता मुख्य कारण रहेको दाबी गरे।

उनले सुरुमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान र छानविन प्रक्रिया सुरु भएपनि त्यो काण्डले पार नपाउँदै बालुवाटारको ललिता निवासको जग्गा प्रकरण बाहिर आएको बताए।

ललिता निवास जग्गा प्रकरणमा टिप्पणी लेखेबापत तल्लो तहको शाखा अधिकृतलाई कारबाही चलाउने कार्य सुरु भएपनि त्यो प्रकरणको निर्णयकर्तामाथि कुनै अनुसन्धान नभएको भन्दै अहिले यो प्रकरण सेलाउन नपाउँदै फेरि सुन तस्करीको काण्ड बाहिर आएको बताए।

‘मलाई लाग्दै छ, कुनै न कुनै किसिमले यी र यस्ता प्रकरणमा माथिल्लो तहको संलग्नता छ, त्यही भएर हेर्नु होला सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन प्रक्रिया लजिकल इण्डमा नपुग्दै अर्को घटना बाहिर आएर पुराना प्रकरण छायामा पर्न सक्छ,’ कोइरालाले भने।

सुन तस्करी प्रकरणको अनुसन्धान प्रक्रिया राजस्व अनुसन्धान विभागले गरिरहेपनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागको संलग्नता नरहनु आश्चर्यको विषय भएको पनि उनले बताए।

विगतमा कांग्रेस सरकारको पालामा राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहतमा रहँदै आएको प्रसंग उल्लेख गर्दै कोइरालाले भने, ‘जुन बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनु भयो, त्यो बेला उहाँले राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनु भयो। त्यतिबेला हामीसँगै शेरबहादुर देउवाजीले पनि पटक पटक यो बोल्नु भएको थियो कि यो विभाग पुरानै मन्त्रालय मातहतमै फर्काउनु पर्छ भन्नु भएको थियो। तर, उहाँ आइसकेपछि यो फर्काउनु भएन। हामीले भनिराख्यौँ, तर, उहाँले पनि र प्रधानमन्त्रीजीले पनि फर्काउनु भएको छैन। सोच्नुहोस्।’

उनले अहिले प्रतिनिधि सभाको अधिवेशन जारी रहेपनि प्रमुख विपक्षी दल एमालेले संसद अवरुद्ध गरेर बसिरहेको भन्दै, उनले भने, ‘यो बेला यही विषयमा प्रतिपक्षीसँगै सत्तापक्षले पनि बोल्न पाइन्छ। यसरी सदनमा कुरा उठाउन नपाउँदा नेसनलाई कति लस भइरहेको छ, त्यो विपक्षीसँगै हामी कांग्रेसले पनि बुझ्न जरुरी छ।’

साथैै उनले देशमा कुनै गम्भीर किसिमको घटना आउनासाथ शीर्ष तीन नेताहरु एकठाउँमा बसिहाल्ने कुराले पनि राम्रो सन्देश नदिइरहेको बताए।

यसका अतिरिक्त कोइरालाले पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण भएको कारण उक्त बैठकमा पार्टी सदस्यहरुले पार्टी र देशको विषयमा खुल्ला रुपमा खुलेर अभिव्यक्ति दिन नसकेको गुनासो उनले गरे।

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update