प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस ११ गते सरकारको नेतृत्व सम्हाले यताको ८ महिना नपुग्दै आफ्नो नेतृत्वको मन्त्रिमण्डल १२औं पटक पुनर्गठन गरेका छन्।
नेकपा एमालेसँगको सत्ता साझेदारीमा सरकारको नेतृत्व लिँदै गर्दा तराई–मधेसबाट पहिलो पटक संघीय संसदमा उपस्थिती जनाउन सफल भएको सिके राउतको जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराएका दाहालले बिचको केही समय सत्ता बाहिर रहन पुगेको राउतको जनमत पार्टीलाई सोमबार पुनः सरकारमा सहभागी गराए।
आइतबार आफ्नै दलको तर्फबाट सरकारमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेका दाहालले सोमबार राउतको पार्टीकी सांसद अनितादेवीलाई मन्त्री पदमा नियुक्त गरे।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बिहानै जनमत पार्टीकी सांसद अनितादेवीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ दिलाएपछि दाहाल नेतृत्वको सरकार १२औं पटक पुनर्गठन हुन पुगेको हो।
राष्ट्रपति पौडेलले कार्यालय शीतल निवासमा सोमबार बिहान पद तथा गोपनीयताको सपथ दिलाए लगत्तै नवनियुक्त मन्त्री अनितादेवीले पदभार ग्रहण समेत गरिसकेकी छिन्।