हिमाल दैनिक
प्रदिप गिरिको महिमा गाउने देउवा/गगन गलत हुन् कि, आक्षेप लाउने उपसभापति धनराज गुरुङ सही?
पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा स्वर्गीय प्रदीप गिरिको पहिलो बार्षिकीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा सोमबार सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्नुहुँदै ।तस्बिरः माधवप्रसाद घिमिरे/रासस

आज भदौ ४ गते। नेपाली कांग्रेसका प्रखर वक्ता तथा राजनीतिक विश्लेषक प्रदिप गिरिको प्रथम स्मृति दिवस।

नेपाली कांग्रेस पार्टी र यसका विभिन्न तहका नेता, कार्यकर्तादेखि गिरिका शुभचिन्तकहरुले उनको सम्झनामा विगत तीन दिनदेखि निरन्तर विभिन्न कार्यक्रमहरुको आयोजना गरी गिरिप्रति श्रद्धासुमन चढाइरहेका छन्।

यसैक्रममा सोमबार पार्टी मुख्यालय सानेपामा आयोजित स्मृति सभामा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगनकुमार थापा लगायतका नेताहरुले नेता गिरिले नेपाली समाज र राजनीतिमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे।
यसरी प्रशंसा गर्ने क्रममा सभापति देउवाले स्वर्गिय गिरिको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्ने धारणा राखे।

पार्टीको आयोजनामा सम्पन्न कार्यक्रममा समाजवादी चिन्तक, लेखक एवं कांग्रेसका निष्ठावान त्यागी नेता प्रदीप गिरीको पहिलो वार्षिकीमा आयोजित स्मरणसभामा देउवाले स्वर्गीय प्रदीप गिरिका कृतिहरुलाई पार्टीले प्रकाशित गरेर उनको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्ने बताए।

स्वर्गीय गिरिका लेख र कुरा हेर्दा गणतन्त्रका लागि धेरै अघिदेखि नै मत जाहेर गर्ने व्यक्तिका रुपमा आफुले बुझेको उने बताउँदै गिरि कहिल्यै नथाक्ने समाजवादी चिन्तक भएको पनि बताए।
 
त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसका पछिल्लो पुस्ताहरुलाई स्वर्गीय गिरिले हात समाएर साथ दिएको स्मरण गरे।

उनले गिरिका संग्रहलाई प्रकाशन गरेर कांग्रेसमा आएका नयाँ पिढीलाई ज्ञान प्रदान गर्नुपर्ने धारणा पनि राखे।

क्यान्सरबाट पीडित नेता गिरिको उपचारका क्रममा एकबर्ष अघि भाद्र ४ गते निधन भएको थियो। गिरिले एक दर्जनभन्दा बढी पुस्तक लेखन तथा सम्पादनन गरेका छन्।

तर, पार्टी सभापति देउवा, महामन्त्री थापा लगायतका नेतादेखि कार्यकर्ता तथा गिरिका शुभचिन्तकहरुले उनको सम्झनामा विभिन्न कार्यक्रम गरिरहँदा स्वास्थ्यमा खराबी देखिएपछि स्वास्थ्य उपचार तथा स्वास्थ्य लाभ लिइरहेको कांग्रेस उपसभापति तथा वर्तमान सरकारका मन्त्री समेत रहेका धनराज गुरुङले भने गिरिप्रति गम्भीर आक्षेप लगाएका छन्।

Dhanraj Gurung's status1692612370.JPG

उनले सोमबार अपरान्ह आफ्नो फेसबुक र ट्वीटरमार्फत गिरिप्रति लक्षित गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा ०३१ सालको एउटा घटनामा गिरिको नाम नलिइकनै उनलाई सुराकीको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘शसस्त्र क्रान्तिका लागि खगेन्द्र दाहाल र गोकर्ण कार्की वनारसबाट आउँदा सिरानी भित्र लुकाएर ल्याएको ग्रिनेट सहित सुराकीका कारण थानकोटमा पक्राउ परेपछि २०३१ साल असोज १३ गते खगेन्द्र र गोकर्णलाई जेल चलानको नाममा मध्यरातमा नख्खु ओरालोमा लगेर गोली हानेर मारियो। सुराकी को?’

हुनत, गुरुङले यसरी गरेको प्रश्नमा गिरिको नाम भने प्रष्ट उल्लेख छैन। तर, त्यतिबेला कांग्रेसका गिरिविरोधी व्यक्तिहरुले उक्त घटनामा गिरिको संलग्नता हुन सक्ने आशंका व्यक्त गर्ने गर्दथे।

नेपाली समाज, संस्कृति र परम्परा अनुसार, कुनै पनि व्यक्ति जीवित छँदा जे जस्ता आरोप र आलोचना गर्ने गरिएपनि उसको देहवसान पश्चात सामान्यतयः दिवंगत व्यक्तिका प्रति नकारात्मक टिप्पणी गरिँदैन।

यसमा पनि कांग्रेस पार्टी र यसको नेतृत्वले केन्द्रदेखि जिल्लातहसम्मै गिरिको सम्झनामा यो हप्तैभर जसो विभिन्न कार्यक्रम गर्दै उनका योगदानको विषयमा चर्चा गर्दै गर्दा सोही पार्टीको उपसभापति तथा सरकारकै जिम्मेवार मन्त्रीले यस्तो गम्भीर आक्षेप लगाउने कार्यले कांग्रेस पार्टीभित्रको अस्तव्यस्त अवस्थालाई चित्रण गरिदिएको छ।

पार्टीको कार्यक्रम र उपसभापति गुरुङको टिप्पणीका विषयमा पार्टी कार्यालय सानेपाका कर्मचारीदेखि पार्टीका विभिन्न तहका नेताहरुले असन्तुष्टि जनाएपनि औपचारिक रुपमा कोही मुख खोल्न भने तयार भएनन्।

उनीहरु सबैले यसलाई पार्टीको लथालिङ्ग स्थितिको परिणाम भन्दै एउटै प्रश्न गरे, ‘यसबारे पार्टीभित्र छलफल हुनुपर्छ। कि गिरिको महिमागान गर्ने पार्टीको निर्णय गलत छ, होइन भने उपसभापति गुरुङको अभिव्यक्ति गलत छ।’

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update