हिमाल दैनिक
नेकपा एकीकृत समाजवादीले माघमा राष्ट्रिय अधिवेशन गर्दै

नेकपा एकीकृत समाजवादीले माघ १४ देखि १८ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

बिहीबार ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले माघमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठानीक प्रतिवेदन सुझावसहित सर्वसम्मतीले पारित गरेको छ।

बैठकले मंसिरसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन गर्ने र सबै कमिटीहरुले सदस्यताको विवरण संकलन गर्ने, महाधिवेशनलाई केन्द्रीत गरि भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ।  

त्यस्तै आगामी असोजमा एक महिना पार्टीका मुद्धाहरु सुनाउने उदेश्यकासाथ मेची–महाकाली राष्ट्रिय अभियान संचालन गर्ने, महाधिवेशन अगावै युवा विद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने, कार्यक्षेत्रको बिभाजन गर्दा संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी तोकिने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै बैठकले १५ दिनमा पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनै पनि तहका कमिटीका अध्यक्ष एवं सचिवहरुलाई उक्त जिम्मेवारीबाट मुक्त हुन आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए।

बैठकले एमसीसी सम्झौताको कार्यान्वयनको अनुगमन गर्न र पार्टीका तर्फबाट जनतालाइ सुसूचित गर्न अनुगमन समिति बनाउने निर्णय गरेको उनले बताए।

बैठकले राष्ट्रिय तथा अन्तराष्ट्रिय बिषयहरुमा बिभिन्न १९ बुँदे प्रस्ताव पारित गरेको छ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ०७४ को चुनावी तालमेल लगत्तै पार्टी एकीकरण पश्चात बनेको नेकपा डब्बलका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसद विघटन गर्नेदेखि पार्टीभित्र एकलौर्टी निर्णय लिने प्रक्रियाको चरम उत्कर्षमा नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएपछि ०७८ असोजमा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले पहिलो पटक वैधानिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको तयारी गर्दैछ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update