हिमाल दैनिक
एमाले उपाध्यक्ष नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिए।

नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगाएत एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु अस्पताल पुगेका थिए।

इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए।

पेशाले कानून व्यवसायमा सक्रिय नेम्वाङ वामपन्थी राजनीतिमा सक्रिय रहेकै कारण तत्कालिन राष्ट्रिय सभामा एमालेको तर्फबाट निर्वाचित हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए। त्यसपछि उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए।

२०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसदको रुपमा क्रियाशिल हुँदै कानून मन्त्री समेत बन्न सफल भएका थिए।

२०६३ सालमा पहिलोपटक सभामुख बन्ने अवसर पाएका नेम्वाङले अन्तरिम संसदमा र त्यसपछिका दुई संसदीय कार्यकालमा सभामुख बनेर आफ्नो भूमिका निर्वाह गरे।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update