नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जनालाई मनोनित गरेका छन्।
कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम आज आठ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन्।
मनोनित हुनुहुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा चन्द्रकान्त भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा)लाई मनोयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पार्टी विधान अनुसार, सभापतिले पार्टी महाधिवेशन प्रतिनिधिमध्ये ३३ जना प्रतिनिधिलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्न पाउने व्यवस्था रहेको छ।
जसका आधारमा १४औं महाविधेशनबाट सभापतिमा निर्वाचित भएलगत्तै सपभाति देउवाले सुरुमा पार्टीका पूर्व नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहित १० जनालाई मनोनित गरेका थिए।
जसमध्ये नेता पौडेल गत फागुनमा सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट देशको राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै संविधानको व्यवस्था बमोजिम तत्काल पार्टी सदस्यबाट मुक्त भएका थिए।
त्यसैगरी सभापति देउवाले दोस्रो चरणमा जीवनबहादुर शाही, प्रदिप पौडेल र कल्याण गुरुङ तथा तेस्रो चरणमा १० जना महिलालाई मात्रै केन्द्रीय समितिमा मनोनित गरेका थिए।
त्यसपछि बाँकी रहेको स्थानमध्यै सभापति देउवाले केही समयअघि मात्रै पार्टी नेता मिनेन्द्रप्रसाद रिजाललाई पनि केन्द्रीय कार्यसमितिमा मनोनित गरेका थिए भने पछिल्लो पटक बिहिबारको केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि ८ जनालाई मनोनित गरेका हुन्।
यसरी विधानको व्यवस्था बमोजिम हालसम्म राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले दिएको राजीनामा पश्चात रिक्त रहेको सिटसहित अब सभापति देउवाले अझै २ स्थानमा केन्द्रीय सदस्यको मनोनित गर्न तथा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट एक जनालाई केन्द्रीय कोषाध्यक्षमा मनोनित गर्न बाँकी छ।