हिमाल दैनिक
तत्काल इजरायलको व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्न मन्त्री साउदको आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन्।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले इजरायलको अस्था निकै संवेदशनशील भएकाले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन्।
उनले इजरायलको अवस्थालाई लिएर राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन्।

मन्त्री साउदले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको अनलाइन माध्यमबाट विवरण संकलन भइरहेको र हालसम्म दुइसय भन्दा बढि नागरिकको विवरण संकलन भइसकेको जानकारी दिए।

नेपाल आउन चाहने नागरिकका लागि दुईवटा विमान तयारी अवस्थामा रहेको भन्दै उनले आवश्यक समयमा उद्दारको काम हुने जानकारी पनि उलने दिए।

मन्त्री साउदले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका १७ जनाभन्दा बाहेक अन्य नेपालीहरु गम्भीर रूपमा प्रभावित नभएको जिकिर गरे।

उनले परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गरिरहेको र यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यवद्धता व्यक्त गरिएको जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

समिति सदस्य प्रकाशमान सिंहले नेपालमा फर्कन चाहनेहरुका लागि दुतावासको पहलमा सुरक्षित स्थानमा राखेर स्वदेश फर्काउने व्यवस्था गर्नुपर्ने सुझाव दिए।

इजरायलको घटना निकै संवेदनशिल भएकाले समय समयमा सरकारले जनतालाई आवश्यक सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य बर्षमान पुनले इजरायलको द्वन्द्व बढ्न सक्ने भन्दै छिमेकी मुलुकहरुसंग आवश्यक सहकार्य गरेर उद्दारका लागि तयार हुनुपर्ने बताए।

छलफलपछि समितिले इजरायल घटनामा मृत्यु भएकाको शव छिटो स्वदेश ल्याउन, घाइतेको उपचारका साथै वेपत्ताको खोजि र नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको सभापति राजकिशोर यादवले जानकारी दिए।

बैठकले भविश्यमा घट्नसक्ने यस्ता घटनाको पूर्व आंकलन गरेर विदेशीस्थीत नियोग र दूतावासमार्फत नेपालीहरुको विवरण अद्यावधिक गरि पूर्ण तयारी अवस्था रहने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update