हिमाल दैनिक
इजरायलमा जोखिममा परेका नेपालीको जीवन रक्षा गर्न सरकारलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले इजरायलमा जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा खान, बस्नका लागि उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो।

बैठकले इजरायलमा ज्यान गुमाएका १० जनाको पार्थिव शारिरलाई यथासिघ्र स्वदेश ल्याएर परिवारजनलाई बुझाउने व्यवस्था गर्न समेत आग्रह गरिएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

त्यस्तै सम्पर्कमा नरहेका नेपालीको खोजी गरेर अवस्था सार्वजनिक गर्ने, नेपाल आउन चाहने नेपालीका लागि सुरक्षित तवरले स्वदेश फिर्ताको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको लेखकले बताए।

बैठकले इजरायलमा हमास समूहको आक्रमणको निन्दा गर्दै मृत्यु हुने नेपाली युवाप्रति श्रद्धान्जलीका साथै शोक प्रस्ताव पारित गरेको मुख्य सचेतक लेखकले जानकारी दिए।

बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी दिएका थिए।

गत शनिबार पेलिस्टाइनी आतंकारी समूह हमासले अचानक इजरायलको भुभागमा प्रवेश गरी अन्धाधुन्ध गोलाबारी गरेको थियो। उक्त आक्रमणमा नेपालको सुदूरपश्चिम विश्वविद्यालयमा कृषी संकायमा अध्ययनरत विद्यार्थीहरु जो कमाउँदै सिक्दै कार्यक्रमअन्तरगत पुगेका ४९ जना विद्यार्थीहरु परेका थिए। जसमध्ये हालसम्म १० नेपाली विद्यार्थीको ज्यान गइसकेको छ भने, एक जनाको स्थिति अझै पनि अज्ञात रहेको छ भने बाँकी संकटमा परेका विद्यार्थीलाई सोमबार साँझ इजराइली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update