हिमाल दैनिक
इजरायलबाट घर आइपुगे साढे २ सय नेपाली, अझै २ सय नेपाली चाहन्छन् स्वदेश फर्किन
इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरेर ल्याएपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद । तस्बिर: रत्न श्रेष्ठ/रासस

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ।

गत शनिबार पेलिस्टाइनी आतंककारी समूह हमासले अचानक इजरायली भूभागमा प्रवेश गर्दैै अन्धाधुन्ध गोलाबारी गरी सयौँको हत्या गरेलगत्तै इजरायलले हमासको नियन्त्रणमा रहेको गाजा स्टिपमा जवाफी कारबाही सुरु गरेपछि द्न्वद्धको चपेटामा परेका नेपाली विद्यार्थी लगायतका नागरिकले सरकारसँग स्वदेश फिर्ता हुन निवेदन दिएका थिए।

संकटग्रस्त क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता गर्ने सरकारी निर्णय अनुसार, सरकारका परराष्ट्रमन्त्री एनपी साउदसहितको सरकारी टोली बिहिबार बिहानै नेपाल एयरलाइन्सको वाइडवडी विमान लिएर इजरायलको तेल अभिभ पुगेका थिए।

अपरान्ह तेल अभिभ पुगेको उक्त जहाजमा त्यहाँ रहेका २५४ जना नेपाललाई बिहिबार साँझ सवा ५ बजे लिएर उडेको उक्त जहाज शुक्रबार बिहान २ः४५ बजे काठमाडौं आइपुगेको हो।

नेपालीको उद्धार गरेर स्वदेश फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।

नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम बिहीबार बिहानसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएको उनले बताए।

उनले जोखिमपूर्ण स्थानमा रहेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए।

इजरायलमा भएको आतंकारी हमलामा परी १० जना नेपाली विद्यार्थीको निधन भएको र मृतकको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए।

यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फकिएका छन् भने, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको मन्त्री साउदले जानकारी दिए।

‘आक्रमणमा परी  सम्पर्कबिहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ,’ मन्त्री साउदले थप्दै भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ।’

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक ल्याउन नसकिएका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनले जानकारी दिए।

उद्धार गरी नेपाल ल्याइएका नागरिकहरुलाई विभिन्न गन्तव्यमा पु¥याउने व्यवस्था पनि सरकारले गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update