हिमाल दैनिक
कोशी प्रदेशको विवाद चर्कर्दै गर्दा सभापति देउवाले डाके कार्यसम्पादन समितिको बैठक

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर पार्टीभित्र उत्पन्न नयाँ विवादले थप अन्यौलता छाइरहेकै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

संविधानको धारा १६८ को उपधारा १ र २ बमोजिम बनेका यसअघिका कुनै पनि प्रदेश सरकारका मुख्यमन्त्रीले प्रदेश सभाको विश्वास प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले दिएको समयसिमा अगावै कांग्रेसकै नेता शेखर कोइराला निकट केदार कार्कीसहित ८ जनाले एमालेका ३९ सदस्यको हस्ताक्षरसहित दावी पेश गरेपछि कांग्रेसको कोशी प्रदेशबाट विग्रहको विजारोपण सुरु भएको छ।

केन्द्रीय सभापति देउवाले प्रदेश संसदीय दलका नेता उद्दव थापाको पक्षमा सदनको बहुमत नआउने स्थितिमा सत्ता साझेदार दलका नेताहरुबीचको सहमतिमा माओवादी इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।

तर, त्यसको विरोधमा उत्रिएको असन्तुष्ट पक्षका नेता कार्कीलाई एमालेले साथ दिन तयार भएपछि कोइराला पक्षले प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा दावी पेश गरेका थिए।

कोशी प्रदेशमा देखिएको राजनीतिक खिचातानी समयमै सम्बोधन हुन नसकेमा कांग्रेसभित्रको विद्रोह अन्य प्रदेशहुँदै केन्द्रसम्म नै फैलिन सक्ने र यसले अन्ततः वर्तमान सत्ता गठबन्धनकै भविश्य धरापमा पर्न सक्ने सम्भावना बढ्दै गएको छ।

यही अन्यौलताकाबीच सभापति देउवाले शुक्रबार अपरान्ह पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलको नाममा अपरान्ह ३ बजे देउवाको नीजि निवास धुम्रबराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सम्बन्धित सबैलाई उपस्थित हुन भनिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update