हिमाल दैनिक
कोशीका मुख्यमन्त्री कार्कीले लिए सपथ, दुई जनालाई विनाविभागीय मन्त्रीमा नियुक्ति

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए।

मुख्यमन्त्री कार्कीले आइतबार नै सानो आकारको मन्त्रिमण्डल पनि गठन गरेका छन्।

केन्द्रदेखि प्रदेशतहसम्म रहेकोे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतको पार्टीगत गठबन्धनलाई तोड्दै विपक्षी मोर्चामा रहेको नेकपा एमालेसँग सहकार्य गर्न पुगेका कार्कीले आइतबार आफ्नो समूहमा उभिएका एक सदस्यसहित एमाले प्रदेश सदस्यलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले एमालेका प्रदेश सांसद राम बहादुर राना र कांग्रेसबाट निर्वाचित भएर कार्कीसँग उभिन पुगेका प्रदेश सांसद शमशेर राईलाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गर्दै पद तथा गोपनियताको शपथ दिलाए

शपथ ग्रहण पछि मुख्यमन्त्री कार्कीले नवगठित सरकारले भौतिक विकाससंगै मानविय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

साथूै कार्कीले संविधानमा उल्लेख भएको व्यवस्था बमोजिम आफ्नो नेतृत्वको मन्त्रिपरिषदले र आफूले तोकिएको ३० दिन भित्र विश्वासको मत लिने जानकारी दिए। यसैगरी उलने आफु सहमतिको सरकारको पक्षमा रहेको र ९३ जना सांसदहरुको समर्थनबाट सरकार चलाउने प्रयासमा रहने बताए।

त्यस्तै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेशमा देखिएको जातिय र धार्मिक सद्भाव विरोधी क्रियाकलाप अन्त्य गर्न र सहमतिका आधारमा प्रदेशको विकास र समृद्धिका लागि नवगठित सरकारले काम गर्नुपर्ने धारणा व्यक्त गरे।

यसअघि कांग्रेस र माओवादी केन्द्रसहितको केन्द्रीय गठबन्धन र यसको नेतृत्वले कोशी प्रदेशमा माओवादीको नेतृत्वमा उपधारा ५ बमोजिमको सरकार बनाउने निर्णय गरेका थिए। त्यसको विरुद्धमा कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाको समर्थनमा कार्कीसहित ८ जनाले पार्टी निर्णयको विरुद्धमा एमालेसँग सहमति गर्दै मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका थिए।

केन्द्रीय नेतृत्वले गरेको प्रयासका बाबजूद कोइराला र कार्की पछि हट्न तयार नभएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सम्भावित खतरालाई टार्ने प्रयास स्वरुप एक कदमपछि हट्दै कार्कीकै पक्षमा सत्ता गठबन्धन उभिने निर्णयमा सहमत भएका थिए।

 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update