हिमाल दैनिक
कोशी प्रदेशमा भएको राजनीतिक दुर्घटनाको जिम्मेवारी सभापति देउवाले लिनुपर्छः कांग्रेस महामन्त्रीद्वय

नेपाली कांग्रेसका महामन्त्रीद्वय महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियामा भएको समस्याको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

सोमबार कोशी प्रदेशको घटनाक्रममा बिषयमा पार्टी सभापति देउवाले आफ्नो निवास धुम्म्रबाराहीमा उपसभापति र महामन्त्रीहरुसँग गरेको छलफलका क्रममा थापा र शर्माले कोशी प्रदेशमा भएको दुर्घटनाको आत्मसमिक्षा गर्दै त्यसको जिम्मेवारी सभापति देउवाले नै लिनुपर्ने बताएका हुन्।

छलफलका क्रममा कोशी प्रदेशको पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

शर्माले आफूसहित अर्का महामन्त्री थापाले कोशी प्रदेश सभाको संसदीय गणित र त्यहाँको परिस्थितिलाई ध्यान दिएर उक्त प्रदेशमा एमालेसंगको गठबन्धनमा सरकार बन्नुपर्छ भन्ने धारणा राख्दै आएपनि सत्ता गठबन्धनका शीर्ष नेतृत्वले गठबन्धन दलभित्रैबाट नेतृत्व गर्ने गरेको गरेको निर्णयले परिस्थिति जटिल बनेको बताए।

शर्माले यसअघि एमालेको मुख्यमन्त्रीलाई नै सहयोग गर्नुपर्छ भन्ने आफुहरुको राखेको सुझाव नमान्दा अहिलेको अवस्था आएको जिकिर गरे।

गठबन्धनका शीर्ष नेतृत्वबीच कुनै प्रदेश कुनै दलविशेषकै नेतृत्वमा मात्र सरकार बन्ने सहमति नभएको अवस्थामा यसअघि कांग्रेसलाई दुई दुई पटक समर्थन जनाएको माओवादीले यसपटक मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविकै भएपनि निर्णय प्रक्रियामा सभापति देउवाले पार्टी उपसभापति, महामन्त्री वा अन्य कुनै प्रदेश विशेषका नेताहरुलाई संलग्न नगराई एक्लै निर्णय गरेपछि नेता शेखर कोइरालाको समर्थनमा केदार कार्कीसहितका केही सदस्यले विद्रोह गरेर एमालेसँग मिलि सरकारको दाबी गरेको बताए।

‘कोशी प्रदेशमा विगतमा एमाले गठबन्धनको सरकारका मन्त्रीहरु बाहिरिएर मात्र होइन सभामुख पद समेत छाडेर हामीलाई समर्थन जनाउनु भएका माओवादीले यसपटक दाबी गर्नु स्वाभाविकै थियो होला। तर, यसरी निर्णय गर्ने क्रममा पार्टीको महामन्त्री म लगायत अन्य कुनै नेतालाई सहभागी नगराई सभापतिले पहिले माओवादीका इन्द्र आङबोेलाई मुख्यमन्त्रीमा समर्थन जनाउनु भयो। पछि प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखर कोइरालाबीच सहमतिको नाममा एउटा चिर्कटोमा गठबन्धनप्रति प्रतिबद्ध छौँ भन्ने काम भयो। यो सहमति नभएर एउटा कागजको चिर्कटो हो, त्यसमा दुई भाई महामन्त्रीको सहमति छैन,’ उनले भने।

कोशीको घटनाक्रमपछि आफ्नो निर्णयको बारेमा सभापति देउवाले आत्मसमिक्षा गर्नुपर्ने बताउँदै यसका बाबजूद अब कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने मत दिएर अघि बढ्नु पर्ने धारणा उनले राखे।

 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update