हिमाल दैनिक
कोशी प्रदेशका मुख्यमनत्री कार्कीलाई दुई तिहाइको समर्थन, तत्कालका लागि टर्यो राजनीतिक दुर्घटना

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाका दुई तिहाई भन्दा बढी सांसदहरुले कार्कीलाई विश्वासको मत दिएपछि तत्काल लागि कोशी प्रदेशको राजनीतिक दुर्घटना टरेको छ।

संविधानको धारा १६८ को उपधारा २ र ३ बमोजिम बनेका यसअघिका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधान बमोजिम मध्यावधि निर्वाचनको संघारमा पुग्दै गरेको कोशी प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद कार्कीले केन्द्रीय नेतृत्व र सत्ता गठबन्धनको निर्णयविरुद्ध एमालेसँग सहकार्य गर्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

पार्टी नेता शेखर कोइरालाको ढाडस पाएर उत्साहित बनेका कार्कीसहित कांग्रेसका ८ सांसदले एमालेसँगको सहकार्यलाई साथ दिने अडान लिएपछि सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले एक कदम पछि हट्दै कोशी प्रदेशमा कार्कीलाई नै गठबन्धनको समर्थन रहेको निर्णय गरेका थिए।

यसका बाबजूद पनि कार्कीले एमालेका एक सदस्यलाई मन्त्रिमण्डलमा सहभागी गराउँदै आजका लागि प्रदेश सभामा विश्वासको मत मागेका थिए।

उनले राखेको प्रस्तावमा सत्ता गठबन्धनका कतिपय नेताहरुले असन्तुष्टि जनाउँदै त्यसका बाबजूद पनि पार्टी नेतृत्व र गठबन्धनको निर्णय बमोजिम प्रदेश सरकारलाई विश्वासको मत दिने बताएका थिए।

त्यसपछि प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।

उक्त प्रस्तावमाथि भएको मतदानमा प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका थिए भने कार्कीको बिपक्षमा राप्रपाका ५ सांसदहरुले मत जाहेर गरे।

कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका हुन्।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update