हिमाल दैनिक
सरकार ढाल्न र गठबन्धन फुटाउन केही दल लागिपरेका छन्ः प्रधानमन्त्री दाहाल
रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः बलबहादुर ओली ‘बलेन्द्र’/रासस

प्रधानमन्त्री एवम्  नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताउनुभएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्नुहुँदै उहाँले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक छ भन्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो,“हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियौँ, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो । ”

केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उहाँको भनाइ थियो  । “हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो ।”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँवर्ष नै टिक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले निकै बलियो सरकार बनाएका छौँ । यो सरकार पाँच वर्षनै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ ।” सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उहाँले आरोप लगाउनुभयो । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री  दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ  बनाउन सफल भएको बताउनुभयो  । “हामीले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौँँ । अझै पनि बलियो हुने छ । मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरँे । ती देशहरु नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन् ।” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

वर्तमान सरकार गठनभएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका  उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो “हामीले मिटरव्याजीलाई कारबाही गरेका छौँ । नक्कली भुटानी शरणनार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौँ । यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरुको ठूलो साथ र सहयोग रहेको छ  ।”

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update