हिमाल दैनिक
सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छः सभापति देउवा
ओखलढुङ्गामा मङ्गलबार आयोजित नेपाली कांग्रेस ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलन एवम् वीपी स्मृति भवन उद्घाटन कार्यक्रममा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत । तस्बिर: पूर्णप्रसाद न्यौपाने/रासस

ओखलढुङ्गा, १९ मङ्सिरः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई संस्थागत गर्दै देशको विकासमा जुट्नुपर्ने बताउनुभएको छ ।

    ओखलढुङ्गामा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै आज सभापति देउवाले सङ्घीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको बताउनुभएको हो ।

    मुलुकमा सङ्घीयता कार्यान्वयन भएपछि दूरदराजमा विकास पुगेको बताउँदै उहाँले गणतन्त्र र सङ्घीयताको अर्को विकल्प नभएकामा जोड दिनुभयो । “देश सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । अहिले नै यसको विकल्प खोज्नु उपयुक्त हुँदैन”, उहाँले भन्नुभयो, “यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ । व्यवस्था परिवर्तनको सपना कसैले नदेखे हुन्छ ।” उहाँले आदिवासी, जनजाति, मधेसी, महिला, दलितलगायत सबैलाई अपनत्व दिलाउँदै सङ्घीयताको संस्थागत विकासमा लाग्न आवश्यक रहेको बताउनुभयो ।

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवालाई स्वरोजगार बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नुपर्ने भन्दै नेता कोइरालाले कृषि क्षेत्रको विकास गरेर रोजगारीे सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेता कोइरालाले एनसेलमा भ्रष्टाचारको चर्चा चलिरहेको सन्दर्भमा नेपाली कांग्रेसले सदनमा आवाज उठाउने बताउनुभयो ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दल अहिल्यै आगामी निर्वाचनको तयारीमा लाग्नु गलत भएको बताउनुभयो । सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा र भ्रष्टाचार अन्त्यका लागि कांग्रेस लाग्ने बताउनुभयो । छिट्टै सङ्घमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उहाँले उल्लेख गर्नुभयो ।

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका नागरिकलाई निराश नहुन आग्रह गर्नुभएको छ । अहिले प्रदेशले सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गरेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । प्रदेशमा भइरहेको पहिचानको आन्दोलनको कुनै औचित्य नरहेको बताउनुभयो ।

    कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे, पार्टी प्रवक्ता मीनबहादुर विश्वकर्मा, कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की, पूर्वमुख्यमन्त्री उद्धव थापा, केन्द्रीय सदस्यहरु रामहरि खतिवडा, प्रदीपकुमार सुनुवारलगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

    प्रशिक्षणमूलक सम्मेलन बुधबारसम्म सञ्चालन हुने जिल्ला पार्टी सभापति तेजेन्द्र खनालले जानकारी दिनुभयो । पार्टीका पूर्वजिल्ला सभापति र पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेलाई सो अवसरमा सम्मान गरिएको थियो । पूर्वजिल्ला सभापतिहरु महेशकुमार कोर्मोचा, प्रदीपकुमार सुनुवार, गोमा केसीका साथै पार्टी नेतहरु चन्द्रकान्त दाहाल, दुर्योधन गिरीलाई पनि सम्मान गरिएको थियो । स्वर्गीय नेताहरु डिल्लीराम खनाल, मित्रसेन दाहाललाई मरणोपरान्त सम्मान गरिएको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update