मिथिला धार्मिक, सांस्कृतिक चाडपर्व धेरै मनाइने ठाउँमा पर्छ । मिथिलाको नाता सीताको नामसँग जोडिएकाले पनि प्रत्येक पर्व यहाँ विशेषरुपमा मनाइन्छ । सोही क्रममा यतिबेला मिथिला रामजानकी विवाह महोत्सवमा झमेको छ । सांस्कृतिक तथा पारम्परिक पर्वले सिङ्गो मिथिला मङ्गलधुनबीच गाइने विवाह विधिका गीतले गुञ्जायमान बनेको छ ।
मिथिला क्षेत्रमा जता पुग्यो श्रीराम र जानकीको महिमा गाइएका गीत गुञ्जिएका छन् । मङ्लधुन बजिरहेका छन् । लाग्छ, घरघरमै छोरी विवाहको तयारी हुँदैछ । त्रेतायुगमा अवध (अयोध्या)का राजकुमार श्रीराम गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आएर विदेह (मिथिला) राज शिरध्वज जनककी पुत्री सीता (मिथिला, वैदेही, जानकी)सँग विवाह भएको सम्झना अहिले जनकपुर (मिथिला) क्षेत्रले गराइरहेको छ ।
महोत्तरीसहितका मिथिला क्षेत्रका मठमन्दिर रङरोगनले सजाइएका छन् । केही दिनअघि नै सुरु हुने विवाहका पारम्परिक मैथिल विधि एकपछि अर्को आयोजन हुँदैछन् । साताव्यापी यो विवाह महोत्सवको केन्द्रमा जनकपुरधाम छ । सप्ताहव्यापी महोत्सवको पाँचौँ दिन आज ‘मटकोर’ विधि सम्पन्न गरिँदैछ । यस विधिअन्तर्गत आज जानकी मन्दिर परिसरमा विवाह सम्पन्न गरिने वेदी तयार गरिएको छ । विवाहको पूर्वाङ्ग विधि (इष्टदेवता पूजन, पितृस्मरण, ग्रहशान्तिलगायतका विधि) मटकोरकै दिन सम्पन्न गरिने मैथिल परम्परा छ ।
मिथिलामा बर्सेनि साताव्यापी रामजानकी विवाह महोत्सव विभिन्न विधि पूरा गरी मनाइने गरिएको छ । यस क्रममा अघि त्रेतायुगमा श्रीराम जनकपुर आइ भएर सीतासँग विवाह भएर जन्ती बिदाइ गरिएको दिनसम्मका एक सातामा सम्पन्न भएका विधि महोत्सवमा आयोजना हुँदै आएका छन् । सोहीस् तालिकाअनुसार आज पाँचौँ दिन ‘मटकोर’ विधि आयोजन गरिएको हो ।
यस महोत्सवमा श्रीराम जनकपुर आइपुग्नु भएर राजा जनकको दर्शन गर्नुभएको दिनलाई ‘जनकपुर नगर दर्शन’ भोलिपल्ट डुल्दै बाटिका पुग्दा अचानक वैदेही र श्रीराम देखादेख हुनुभएको दिनलाई ‘पूmलबारी लीला’ मनाइएको छ । त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन सीता वरणका लागि राजा जनकले राखेका शिवधनुष ताँदो चढाउने सर्तका लागि इच्छित वर सहभागी भएका दिनलाई ‘धनुष यज्ञ’ भनिने गरिएको छ । यी विधि क्रमशः गत मङ्गलबार, बुधबार र बिहीबार सम्पन्न भइसकेका छन् ।
त्यसैगरी चौथो दिनको ‘तिलकोत्सव’ पनि हिजो शुक्रबार नै सम्पन्न भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा त्रेतायुगमा श्रीरामले शिवधनुष ताँदो चढाउने क्रममा भाँचिएको पौराणिक मान्यताको प्रतिकात्मक मञ्चन गरिन्छ । धनुषभङ्ग भएसँगै श्रीरामसँग सीताको विवाहको टुङ्गो लागेको कथा सम्झँदै आज पाँचौँ दिन विवाहको पूर्वाङ्ग विधि ‘मटकोर’ आयोजन गरिएको जनकपुरस्थित श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउनुहुन्छ ।
महोत्सवको चौथो दिन कन्यापक्षका अभिभावकबाट वरवरणको परम्परा छ । यसलाई ‘तिलकोत्सव’ भनिन्छ । महोत्सवमा यो विधि श्री जानकी मन्दिरका महन्थले राजा जनकको भूमिकामा सम्पन्न गर्ने परम्परा छ । यसअनुसार जानकी मन्दिरका महन्थ वस्त्रआभूषण र मिष्ठान्न परिकारका डाला ९सोली० लिएर नजिकैको श्री राम मन्दिर जाने चलन छ । महोत्सवमा श्रीरामका पिता दशरथको भूमिका श्री राम मन्दिरका महन्थले निभाउने परम्परा छ । यो विधि हिजो शुक्रबार सम्पन्न गरिएको छ ।
यसैगरी महोत्सवको छैटौँ दिन सीताराम स्वयम्वर र राति वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छन् । यसलाई ‘सीता स्वयम्वर तथा विवाह’ भन्ने गरिएको छ । यो मुख्य समारोह भोलि आइतबार मङ्सिर शुक्ल पञ्चमीका दिन सम्पन्न गरिनेछ । अघि त्रेता युगमा यसैदिन राम सीताको विवाह भएको विश्वास गरिन्छ । महोत्सवको अन्तिम दिन विवाह सम्पन्न गरिएको भोलिपल्ट जन्तीलाई भोजन गराइ दक्षिणा दिएर बिदा गरिन्छ । यो विधिलाई ‘रामकलेवा’ भनिन्छ । यसरी भोलि आइतबार विवाह र आउने सोमबार ‘रामकलेवा’ गरिएसँगै यसपालिको श्रीराम जानकी विवाह महोत्सव सम्पन्न हुने श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउनुहुन्छ ।
जनकपुरमा धनुषयज्ञ र विवाहविधि जानकी मन्दिर परिसरमै सम्पन्न भएपनि स्वयम्वर भने विशाल मैदान रङ्गभूमिमा आयोजन गरिने परम्परा छ । अहिले क्रमशः महोत्सवका दैनिक कार्यक्रम सम्पन्न हुँदै छन् । विवाहका लागि आवश्यक सरसामानको चाँजो मिलाउने र सोको तयारीमा दिनरात साधुसन्त लागिरहेका महन्थ वैष्णवले जानकारी दिनुभयो । मिथिलामा छोरी विवाहको वैदिक मैथिल परम्पराअनुसार सम्पन्न हुने राम जानकी विवाह महोत्सव यहाँ मिथिलाको मुख्य सांस्कृतिक तथा धार्मिक चाड रहँदै आएको श्री राम मन्दिरका महन्थ श्रीराम गिरी बताउनुहुन्छ ।
सप्ताहव्यापीरुपमा सम्पन्न हुने यस महोत्सवका प्रत्येक विधिमा मिथिला(मिथिलाका नारी)ले गीत गाउँछन् । श्रीराम जनकपुर पुग्नुहुँदा उहाँको स्वागतमा र भोलिपल्ट बाटिका (फूलबारी)मा सीताजी र श्रीरामको आमनेसामने भेट भएको प्रसङ्ग जोडिएका गीतका भावले जोसुकैलाई श्रीसीतारामप्रति श्रद्धा जगाउँछन् । महोत्सवका विधिमा मैथिल परम्पराका सम्धी जिस्क्याउने, सम्धीमिलन गराउने विधिका हासपरिहासले रमाइलो थप्ने गरेको वर्षांैदेखि विवाह महोत्सवमा सरिक हुँदै आएका महोत्तरीको भङ्गाहा–९ कञ्चनवनका ८५ वर्षीय जितन यादव बताउनुहुन्छ ।