हिमाल दैनिक
कांग्रेस बलियो भएमात्रै शासन व्यवस्था दिगो र स्थायी हुन्छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा आएको राजनीतिक परिवर्तनलाई दिगो र स्थायी बनाउन कांग्रेस बलियो भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी समानुपातिक लोकतान्त्रिक शासन व्यवस्था स्थापित गरिएको भन्दै यो परिवर्तनलाई स्थायीत्व दिन कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका हुन्।

देउवाले पार्टीभित्र पूर्ण रुपमा मेलमिलाप हुन नसकेको भन्दै जित र हारलाई स्वाभाविक रुपमा लिदै पार्टीलाई एकतावद्ध गर्नुपर्नेमा जोड दिए।

देशको निर्वाचन कानूनको व्यवस्था अनुसार, अहिलको निर्वाचन प्रणालीमा कसैको पनि बहुमत नआएपनि जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएको भन्दै सभापति देउवाले यसमा नेता तथा कार्यकर्ताको पनि ठूलो योगदान रहेको जिकिर गरे।

त्यस्तै कांंग्रेस उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङले प्रदेशलाई अधिकारसम्पन्न बनाउन संघीय सरकारले छिटै आवश्यक कानून ल्याउने जानकारी दिए।

विगत लामो समयदेखि संसदमा थन्किएर रहेका कतिपय महत्वपूर्ण कानूनका मस्यौदाहरुको विषयमा चर्चा गर्दै निजामति ऐन, प्रहरी ऐन र शिक्षा ऐन ल्याउने तयारी भइरहेको भन्दै उनले तत्काल संसदको अधिवेशन बस्न नसके अध्यादेशमार्फत भएपनि आवश्यक कानून ल्याउने तयारीमा सरकार रहेको बताए।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै प्रदेशका सम्मेलनमा कानून अभावको गुनासो सुनिएको भन्दै कांग्रेस महासमिति बैठकसम्म पनि प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्ने चेतावनी दिए।
उनले प्रदेशलाई बलियो बनाएमात्रै संघीयता बलियो हुने धारणा राखेका थिए।

त्यस्तै कांग्रेस प्रदेश सभापतिहरुले पार्टीको भावनालाई समेट्दै पार्टी अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update