हिमाल दैनिक
नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको नवौँ सभामा सहभागी हुँदै । साथमा स्वास्थ्यमन्त्रीलगायत अन्य महानुभावहरू । तस्बिरः श्रेष्ठ/रासस

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उहाँले उक्त कुरा  बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।
 
आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ ।”

देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालैको भूकम्प, प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्धार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ ।”

आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
 
पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले अनुभूत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविष्कारमा प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गर्नुभयो ।

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ

प्रधानमन्त्री दाहालले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताउनुभयो ।  प्रतिष्ठानको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।”

    प्रधानमन्त्रीले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिनुभयो । साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बाटोघाटोको असुविधा, दक्ष चिकित्सक र प्राविधिकको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्या छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।”

    चिकित्सक, प्राविधिक र कर्मचारीको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “तपाईंहरूका  मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वास दिलाउँछु ।”

 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update