राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन्।
सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रिपोर्टिङका लागि गएका पत्रकारहरूलाई प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन।
अतिविशिष्ट अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा विशेष पासको व्यवस्था हुँदा बाहेक अन्य कार्यक्रममा सूचना तथा प्रसारण विभागको कार्डले प्रवेश दिँदै आइएकोमा आजको कार्यक्रममा सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा समेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गर्दै सैनिक मञ्चको मुख्य प्रवेशद्वार अगाडि क्यामेरा डाउन गरेका थिए।
समारोहको निमन्त्रण पास भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको थियो।
सो समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहेको थियो। विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।