हिमाल दैनिक
मुलुकमा विद्यमान चुनौतिको सामना गर्न कांग्रेस एकताबद्ध हुनै पर्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चूनौतिको सामना गर्न पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौति देखिएको भन्दै यसलाई सामना गर्न कांग्रेसभित्र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

देउवाले विगतमा मुलुकमा उत्पन्न विभिन्न चुनौतिको सामना गर्न कांग्रेस र यसको नेतृत्व संक्षम रहेको उल्लेख गर्दै यसअघि जस्तै अहिलेको चूनौतिको समाधान गर्न कांग्रेस सफल हुने विश्वास व्यक्त गरे।

सभापति देउवाले देशमा खेलकुद प्रति युवाहरुको आकर्षण रहेको भन्दै खेल क्षेत्रको बिकासमा सवै गम्भीर भएर लाग्नुपर्ने धारणा पनि राखेका थिए।

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदमा जस्तै नेपाली राजनीतिमा अनुशासन कायम गर्नुपर्ने बताए।
उनले गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भएको र नेपालको राजनीति गम्भीर घुम्तीमा पुगेको धारणा राखे।

उनले राजनीतिलाई सहि ट्रयाकमा ल्याउने काम कांग्रेसकै भएकाले निराशालाई आशामा बदल्ने जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update