हिमाल दैनिक
गिरीबन्धु टि–स्टेटबारे ओलीलाई देउवाको जवाफः आफूले निर्णय गर्ने, कांग्रेसलाई दोष दिने! ‘यो त सुहाएन ओलीजी’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरकानुनी ढंगले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री गर्ने कार्य कांग्रेसको पालामा नभएर एमाले नेतृत्वको सरकारले गरेको स्पष्टिकरण दिएका छन्।

प्रजातान्त्रिक विचार समाजले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले सरकारले गरेपनि अहिले एमाले अध्यक्ष खड्गप्रसाद ओलीले कांग्रेसलाई दोष लगाएकोमा आपत्ति प्रकट गरे।

गिरीबन्धु टि–स्टेटको जग्गा अवैध ढंगले बिक्रिवितरण तथा सट्टापट्टा गरेको विषयमा सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा नेकपा एमाले अध्यक्ष ओलीको प्रत्यक्ष संलग्नता रहेको ठहर गरेलगत्तै ओलीले बुधबार अदालतको निर्णयप्रति आपत्ति जनाउनुका साथै उक्त जग्गाको अवैध कारोबार कांग्रेसको पालामा भएको दाबी गरेका थिए।

ओलीको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै बिहिबार सभापति देउवाले भने, ‘नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ, अदालतको निर्णय पछाडि। के भनेर भन्दाखेरिलाई के रे त्यो? (मञ्चमा रहेका नेताहरुतिर हेर्दे सोधेपछि पछाढिबाट गिरीबन्धु टि–स्टेट) टि बन्धु, टि बन्धुको (जग्गा) चाहिने कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नु हुन्छ, कांग्रेसको पालामा भन्नुहुन्छ।’

विगतमा जस्तै छोटो मन्तव्य राख्ने क्रममा देउवाले थप्दै ओलीलाई प्रतिप्रश्न स्वरुप उनले भने, ‘कहिले? कुन बेलामा भयो, भनिदिए भइहाल्यो नि त! कांग्रेसको पालामा भएको भए। त्यसकारण यस्तो कुरा उहाँजस्तो नेताले भन्न सुहाउँदैन। आफूले गरेको कुरा गरेकै हो भन्न के आपत्ति छ र? अदालतले उहाँको पालामा भएको भनेको छ, उहाँ चाहिने कांग्रेसको पालामा भएको भन्नु हुन्छ। कांग्रेसको पालामा गिरिजाबाबु र म प्रधानमन्त्री भएको हो, हाम्रोे पालामा भएकै छैन।’

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पटक पटक लक्षित गर्दै देउवाले दोहोर्याउँदै भने, ‘उहाँ जस्तो नेताले यस्तो कुरा भन्नु हुँदैनथ्यो।’

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update