हिमाल दैनिक
सहकारी ठगको बचाउमा नलाग्न सरकार र सत्तापक्षलाई कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार सहकारी ठगीबाट पीडित नागरिकप्रति गैरजिम्मेवार र संवेदनहिन बन्दै सहकारी ठगलाई बचाउने कार्यमा लागेको आरोप लगाएको छ।

सहकारी ठगी प्रकरणको विषयमाथि संसदीय छानविन समिति गठनको माग गर्दै आएको कांग्रेसले आफ्नो माग सम्बोधन नहुँदासम्म सदन चल्न नदिने अडान लिँदै आएकोमा बिहिबार सरकार र सत्तारुढ दलका नेताहरुको निर्देशन बमोजिम सभामुखले सदनको कारबाही अघि बढाएपछि सदनभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो  आरोप लगाएको हो।

विशेषगरी पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको साहारा तथा काठमाडौंको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अरबौँ बचत गोरखा मिडया नेटवर्क प्रालिका संचालकद्वय जिबी राई र वर्तमान गृहमन्त्री रवि लामिछानेले गैरकानुनी ढंगले लिएर बचतकर्ताको रकम हिनामिना गरेको विषयमा संसदीय छानविन समिति गठनको माग कांग्रेसले गर्दै आएको छ।

तर, समिति गठनको मागप्रति सरकार र सत्तारुढ दल नेकपा एमाले सहमत नहुँदा वैशाख २८ गतेदेखि सुरु भएको संघीय संसदको बैठक सुचारु रुपले अघि बढ्न सकिरहेको छैन।

यहि क्रममा बिहिबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले विपक्षी दलको नारावाजीकैबिचमा सदनको कारबाही अघि बढाउँदै गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि सदनभित्र तनावपूर्ण स्थिति उत्पन्न भएको थियो।

पछिल्लो परिस्थितिबारे समिक्षा गरी नयाँ रणनीतिबारे छलफलका लागि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार र सत्तापक्षलाई सहकारी पीडितलाई थप पीडा दिँदै पीडकलाई जोगाउने जनहित विरोधी कार्यमा नलाग्न पनि चेतावनी दिएको छ।

बैठकपछि जारी तीन बुँदे निर्णयको पहिलो बुँदामा कांग्रेसले सहकारीको रकम हिनामिना, दुरुपयोग र ठगी जस्तो अपराधजन्य कार्यमा संलग्न भएको आरोप लागेका व्यक्ति रवि लामिछाने नै सरकारका उपप्रधान तथा गृहमन्त्री रहेको अवस्थामा सहकारीका बचतकर्ताको अरबौँ बचत रकमको सुरक्षा ग्यारेण्टी गर्दै बचत फिर्ता गर्न र हिनामिना र ठगी कार्यमा संलग्न व्यक्तिमाथि छानविन र कारबाहीको सुनिश्चिताका लागि संसदीय छानविन समिति गठन गर्न जोडदार माग गरेको छ।

संसदीय छानविन समिति गठनका लागि सदनमा धेरै दलहरुका अतिििरक्त सदन बाहिर पनि माग भइरहेकै बेला सरकार र सत्तारुढ केही दलले संसदीय समिति गठनमा देखाएको अनिच्छाले आफूहरुले उठाइरहेको मागको आधारलाई थप पुष्टि गरेको पनि कांग्रेसको दाबी छ।

यसका अतिरिक्त प्रतिनिधि सभाका सभामुख घिमिरेको भूमिकाको विषयमा पनि कांग्रेसले गम्भीर प्रश्न उठाएको छ।
संसदीय इतिहास र परम्परा अनुसार विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अबरुद्ध भएको मानिने उल्लेख गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा प्रमुख विपक्षी दलले वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाँदा समेत बैठक सञ्चालन गर्ने सभामुखको कार्य उचित नभएको बताएका छन्।

‘संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्दछ। तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ,’ भन्दै लेखकले सभाको बैठक संचालनको विषयलाई गम्भीरतापूर्वक हेरिरहेको बताएका छन्।

साथै कांग्रेसले सभामुख सिंगो सदनको सभामुख हुनु पर्दछ भन्दै सभामुख घिमिरेलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न आग्रह गरेको छ।   

 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update