हिमाल दैनिक
गृहमन्त्री रविलाई संसदमा बोल्न दिन विपक्षी दल तयार, जवाफप्रति चित्त नबुझे विरोध जारी राख्ने कांग्रेसको अडान

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष एवं सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको प्रतिनिधि सभा बैठकमा बोल्न दिन र उनका कुरा सुन्न नेपाली कांग्रेससहितका विपक्षी दलहरु तयार भएका छन्।

देशका विभिन्न बचत तथा ऋण सहकारीको बचत रकम गैरकानुनी ढंगले अपचलन गरेर बचतकर्तालाई पीडित बनाएको आरोप लगाउँदै यसबारे छानविनका लागि संसदीय छानविन समिति गठनको माग पूरा नभएसम्म संसदको कारबाही अघि बढ्न र गृहमन्त्री लामिछानेको स्पष्टिकरण सुन्न तयार नभएको भन्दै सदनको कारबाही अवरुद्ध पार्दैआएको कांग्रेस लगायतका विपक्षी दलले आजको बैठकमा लामिछानेका कुरा सन्न र उनलाई बोल्न दिन सहमत भएका हुन्।

सदनको गतिरोध अन्त्यका लागि शनिबार सत्ता र प्रतिपक्षी दलबीच भएको सहमति अनुसार, सहकारीको रकम हिनामिना लगायतका विषयमा छानविन समिति गठन गर्न दुबै पक्षले समझदारी गर्दै छानविन समितिको क्षेत्राधिकार टर्म अफ रिफरेन्स तय गर्न कार्यदल गठन भएलगत्तै आइतबार नयाँ वानेश्वरस्थित संसद भवनमा कांग्रेसले बोलाएको विपक्षी दलका नेताहरुको बैठकले लामिछानेलाई आज बोल्न दिने सहमति गरेको हो।

समितिको कार्यादेश तयारीका लागि शनिबार भएको सहमति अनुसार, कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेसका जीवन परियार, एमालेका महेत वर्तौला र रास्वपाका शिशिर खनाल सदस्य रहेका छन्।

उक्त बैठकमा शनिबारको सहमति बमोजिम छानविन समितिको कार्यादेश तयारी समितिले तयार पार्ने सहमति पत्रको आधारमा आफूहरुले माग गरेबमोजिमको समिति गठन हुनु पर्ने अडान रहेको छ।

यसैगरी उक्त बैठकमा विपक्षी दलका प्रतिनिधिहरुले सभामुखले आजको बैठकमा लामिछानेलाई सुरुमै बोल्न दिएभने उनका कुरा सुन्ने र उनले राखेका कुरामा चित्त बुझ्ने जवाफ नआएको खण्डमा र सहमति बमोजिम समिति गठन नभए विपक्षी दल कांग्रेसले सदनमा सभामुखलाई दैनिक कार्यसूचि अनुसार बैठक अघि बढाउन नदिने सम्मको विषयमा छलफल र तयारी भएइरहेको छ। 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update