हिमाल दैनिक
विपक्षीलाई घेराबन्दीमा राख्दै विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका विपक्षी दललाई सुरक्षाघेराभित्र राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत माग्ने प्रस्ताव प्रतिनिधि सभामा राखेका छन्।

सहकारी ठगी प्रकरणमा संलग्न गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा निश्पक्ष छानविनका लागि संसदीय छानविन समिति गठनको मागलाई सत्तापक्षले लत्याएपछि सदनको अवरोध कायमै रहेको बेला सोमबारको दोस्रो बैठकमा सभामुख देबराज घिमिरेले मर्यादापालकको परिचालन गर्दै प्रक्रिया अघि बढाए।

पहिलो बैठकमा जारी नाराबाजीपछि १५ मिनेट स्थगित गरेपनि सभामुखले दोस्रो बैठकमा अत्याधिक संख्यामा मर्यादापालक परिचालन गरी सदन सुचारु गर्नासाथ विपक्षी दल कांग्रेसका सांसदलाई उनीहरुको रोबाट वेलसम्म पुग्नै नदिनेगरी घेराबन्दीमा राख्दै प्रधानमन्त्री दाहाललाई विश्वासको मत माग्ने प्रस्ताव पेश गर्न समय दिए।

विगतवको तुलनामा छोटो समय लिएर सम्बोधन गरेका प्रधानमन्त्री दाहालको भाषण चलिरहँदा विपक्षी दलले सुरक्षाघेराभित्र रहेर निरन्तर नाराबाजी गरिरहे।

यहीबिचमा सभामुखले प्रधानमन्त्री दाहालको प्रस्तावमाथि छलफलका लागि सांसदलाई बोल्न समय दिने क्रम सुरु गर्दै सुरक्षाघेरा मिलाएर अहिले एमाले नेता विष्णु पौडेललाई बोल्न समय दिएका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update