हिमाल दैनिक
विपक्षी दलको अवरोध र होहल्लाकैबिच दाहालले लिए चौथो पटक विश्वासको मत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका विपक्षी दलहरुको विरोध र होहल्लाकैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकबाट चौथो पटक विश्वासको मत प्राप्त गरेका छन्।

सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै त्यसबारे संसदीय छानविन समिति गठनको माग गर्दै आएका विपक्षी दलहरुको अवरोधेका बाबजूद सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मत माग्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

आजको बैठकमा सांसदहरुको भन्दा ज्यादा उपस्थिति सुरक्षाकर्मीको गराउँदै विपक्षी दलका सांसदलाई वेलसम्म पुग्नै नदिने रणनीति अवलम्बन गरेका सभामुख घिमिरेले सदनभित्रको नाराबाजी र होहल्लाकैबीच गरेको मतविभाजन प्रक्रियामा सत्तापक्षमा रहेका १५७ सदस्यको समर्थन प्रधानमन्त्री दाहाललाई रहेको दाबी गरे।

तर, विरोध र नाराबाजीका साथ सदन अवरोध गरिरहेका विपक्षी दलका सदस्यहरुले उक्त मतदान प्रक्रियामा सहभागी नै नभएपछि दाहालको विपक्षमा कुनै मत नपरेको जानकारी सभामुखले दिए भने नेमकिपाका प्रेम सुवालले पक्ष वा विपक्षमा मत दिन्न भनि मतदान प्रक्रियामा सहभागी भए।

प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेको घोषणालगत्तै सभामुखले आजको दैनिक कार्यसूचिमा राखिएका सबै कार्यक्रम हटाई भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरे।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update