हिमाल दैनिक
कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको छ।

सिरोहियाको नागरिकताबारे छानविन र अनुसन्धान गरिरहेको धनुषा जिल्ला प्रहरी कार्यालयका नाममा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सिरोहियालाई पक्राउ गर्नुअघि पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो।

सिरोहियाको नागरिकताको विषयलाई वैशाख तेस्रो साता उनीविरुद्ध धनुषा जिल्ला अदालतमा उजुरी परेको समाचार बाहिर आएको थियो।

उनको विषयमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको समाचार सुनेपछि प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले कानून विपरितका क्रियाकलापमा संलग्न जोकोही पनि कारबाहीको भागिदार हुने भएपनि प्रतिशोधका आधारमा गरिने कुनै पनि कामकारबाही कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी दिएका थिए।

संयोगवस सरकारका उपप्रधानमन्त्री एव्ं गृहमन्त्री रवि लामिछाने पोखरा, बुटबल, चितवन लगायतका सहरमा रहेका करिब आधादर्जन सहकारीको बचत रकम लामिछाने र उनका पूर्ववर्ती मिडिया संचालक सहकर्मी जिबी राईले खोलेको गोरखा मिडिया नेटवर्कमा गैरकानुनी ढंगले ऋण लिएर बचतकर्ताको रकम हिनामिना गरेको प्रमाणसहित निरन्तर समाचार कान्तिपुर मिडियाबाट प्रचार, प्रसार भएपछि सिरोहियाविरुद्ध गृहप्रशासनले नागरिकताको मुद्दा अघि सारेर प्रतिशोधको कदम चालेको आरोप लाग्दै आएको छ।

धनुषा र काठमाडौंबाट बेग्लाबेग्लै समयमा नागरिकता लिएको र त्यो नागरिकता विभिन्न कम्पनी दर्ता र कारोबारका क्रममा प्रयोग गरेको आरोपमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएपछि सिरोहियाले आफ्नो विरुद्ध राज्यले चलाएको षडयन्त्रपूर्ण कारबाही रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर पनि गरिसकेका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update