हिमाल दैनिक
गृहमन्त्री रविलाई कांग्रेसको प्रश्नः उपसभापति र महामन्त्रीविरुद्धको आरोप पुष्टि गर्ने कि सदनबाट आफैँ गलहत्तिने?

नेपाली कांग्रेसले आफ्नो पार्टीका उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाविरुद्ध लगाएका आरोपहरु छानविन गरी पुष्टि गर्न सरकार र गृहमन्त्री रवि लामिछानेलाई चुनौति दिएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको सुरुमै कांग्रेसको तर्फबाट बोल्दै सहमहामन्त्री एवं सांसद बद्रीप्रसाद पाण्डेले आइतबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले बर्बराउँदै आफ्नो दलका नेताहरुविरुद्ध विभिन्न आरोप लगाएको र जनतालाई बराल्ने कार्य गरेकाे आरोप लगाए।

सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका लामिछानेको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै सदनको कारबाही निरन्तर अवरुद्ध पार्दै आएको विपक्षी दल कांग्रेस र यसका नेताहरुविरुद्ध आक्रोसित बनेका गृहमन्त्री लामिछानेले आइतबारको बैठकमा उपसभापति गुरुङले कुटनीतिक राहदानी दुरुपयोग गरेकोदेखि महामन्त्री थापाले त्रिचन्द्र कलेजको सभापति हुँदा स्ववियूको रकम हिनामिना गरेकोदेखि कृषि अनुदान रकम हिनामिना गरेको तथा विदेशीलाई सूचना बेचेको आरोप लगाएका थिए।

गृहमन्त्री लामिछानेले लगाएको आरोपको कडा प्रतिवाद गर्दै सांसद पाण्डेले त्यी आरोपहरु पुष्टि गरेर दोषीहरुलाई संसदबाट गलहत्याउन आफूले साथ दिने तर, झुटा आरोप लगाएको भए लामिछानेलाई नै गलहत्याउन पनि आफूहरु पछि नपर्ने चेतावनी दिए।

उनले भने, ‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लाउनुभएको छ, म चुनौती दिन चाहन्छु– के कस्तो खालको टिओर बनाउनुपर्ने हो बनाउनुहोस्। हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओरमा लेख्नुपर्ने हो कि, व्यक्तिको लेख्नुपर्ने हो कि, नेपाली कांग्रेस पार्टीको लेख्नुपर्ने हो लेख्नुहोस्। छानबिनको समय पनि तोक्नुहोस्।’

पाण्डेले यसरी सत्यतथ्यमा आधारित निकर्ष स्वीकार्न आफूहरु तयार रहेको उल्लेख गर्दै दोषी देखिएमा उपसभापति र महामन्त्री लगायत जोजसलाई कारबाही गर्नुछ गर्न चुनौति दिए।

देशको गोप्य सूचना विदेशीलाई बेचेको भनि गृहमन्त्री लामिछानेले लगाएको आरोपबाट आक्रोसित बनेका सांसद पाण्डेले भने, ‘राष्ट्रिय सूचनाहरु बेच्ने एजेन्टहरु यही सदनमा छन् भन्नुभएको छ। गृहमन्त्रीज्यू को हो त्यो एजेन्ट? देखाउनुहोस्। उसलाई यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्छौं। तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने माननीय गृहमन्त्रीज्यू तपाईंलाई यो सदनबाट गलहत्याउन, त्यो कामबाट पनि हामी चुक्ने छैनौं।’

साथै उनले गृहमन्त्रीले बोलेका विषयहरुमाथि छानविन गर्न सभामुखको ध्यानाकर्षणसँगै लामिछानेले आइतबार व्यक्त गरेका असंसदीय र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति संसदको रेकर्डबाट पनि हटाउन माग गरे।

सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने सवालमा आफूहरु कटिबद्ध रहेको उल्लेख गर्दै यसका लागि आफूहरुले छानविन समिति गठनको माग गर्दै आएको उनले बताए।

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update