हिमाल दैनिक
चालु आ.व.को आर्थिक वृद्धिदर ३.९ प्रतिशत कायम हुने अनुमान

सरकारले चालू आर्थिक वर्ष २०८०/८१ मा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ।

आइतबार सहकारीको रकम हिनामिना तथा अपचलनमा संलग्न भएको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै संसदको बैठकमा नारावाजी, वेल घेराउ र अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको नारावाजी र होहल्लाकैबीच चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री बर्षमान पुनले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको बताए।

उनले चालू आर्थिक वर्ष कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान रहेको बताए।

त्यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ भने चालू आर्थिक बर्षको फागुनसम्म औसत मुद्रा स्फीतिदर ६ दशमलव ०८ प्रतिशत रहेको बताए।

चालू वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको भन्दै पुनले संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको जानकारी दिए।

फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको रकूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको उनले बताए।

त्यस्तै अर्थमन्त्री पुनले फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ बढेको, बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको जानकारी दिए। उनले मुलुकको आर्थिक अवस्था क्रमश सुधार हुँदै गएको दाबी गरे।

संसदीय छाविन समिति गठन प्रक्रियामा कार्यविधिको विवाद नसुल्झिएपछि कांग्रेसले सदनमा अवरोध जारी राखेपनि सभामुख देवराज घिमिरेले मर्यादापालक परिचालन गरी विगत केही दिनदेखि सदनको कारबाही अघि बढाउँदै आएका थिए।

सोही प्रक्रियालाई निरन्तरता दिँदै आएका विपक्षी दलका सांसद र सभामुख घिमिरेले आजको बैठकमा त्यो क्रम कायमै गरे।

सभामुख घिमिरेले अर्थमन्त्री पुनलाई सरकारको वार्षिक बजेट पेश गर्नुअघि सदनसमक्ष सरकारको आर्थिक सर्वेक्षण पेश गर्न समय दिएपछि मन्त्री पुन कांग्रेस सांसदको अवरोध छलेर रोष्ट्रम जाने बाटोको खोजिमा थिए। त्यहीबीचमा नारावाजी गरिरहेका कांग्रेस सांसद देवप्रसाद तिमिल्सिनाले अर्थमन्त्री पुनको अगाडि उभिएर बाटो छेक्दै र यताउता हेर्दै सत्तापक्षका एक नेतालाई नमस्कार पनि गर्दै अनि नारावाजी पनि कायमै राख्दै थिए।

यसअघिका बैठकमा संसदको वेलभरी सुरक्षाकर्मी परिचालन गर्दै आएका सभामुखले आजको बैठकमा भने त्यो संख्या अलि कटौती गरेर हो वा अन्य कुनै कारणले गर्दा अर्थमन्त्रीलाई सुरक्षा घेराभित्र राखेर रोष्ट्रमसम्म पुर्याउने मर्यादापालकको उपस्थिति थिएन। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार आफ्नो सिटबाट उठेर सोझै अर्थमन्त्री पुनको हात समाउँदै अघि बढाउन मर्यादापालकको भूमिकामा देखिए।

परियारले मन्त्री पुनलाई डोर्याउन लागेपछि त्यहाँ केहीबेर सत्ता र प्रतिपक्षी सांसदबीच भनाभनको स्थिति बनेको थियो।

अर्थमन्त्री पुनलाई खासै अवरोध नगर्ने रणनीति अपनाएको भान दिने कांग्रेस सांसदहरुले विरोधकैबीचबाट पुनलाइृ रोष्ट्रमसम्म पुग्न दिँदैगर्दा केही मर्यादापालकहरुले बाटो पनि खुलाउन भ्याए।

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update