हिमाल दैनिक
सहकारीमा गरिव जनताकाे बचत हिनामिना हुँदा पनि राज्यले रमिता हेरेर बस्योः कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर रमिता हेरिबसेको आरोप लगाएका छन्।

नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले सोमबार कीर्तिपुरमा आयोजना गरेको  ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै नेता कोइरालाले जनताको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको आरोप लगाएका हुन्।

उनले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद र सडकबाट उठाएको बताए। नेता कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने जिकिर गर्दै भने, ‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ तर, यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ।’

नेता कोइरालाले छिटो भन्दा छिटो सहकारी ठगी सम्बन्धी छानविन गर्न संसदीय समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह पनि गरे।

उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए। उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे।

‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,’ नेता कोइरालाले आफ्नो राजनीतिक लक्ष्यबारे उल्लेख गर्दै भने।

उनले नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएको भनदै राज्यले आयुर्वेदिक विज्ञानलाई जसरी अगाडि बढाउनुपर्ने हो त्यो बढाउन नसकेकोमा चिन्ता व्यक्त गरे।

कोइरालाले आयुर्वेदको अनुसन्धान गर्न के ले बाधा पुर्यायो त्यो बुझ्न जरुरी रहेको उल्लेख गर्दै विद्यार्थीको समस्या देशको समस्या भएकाले यसको समाधानका लागि राज्य लाग्नुपर्ने उनको भनाई छ।

‘तपाईँहरुको भविष्यका लागि मैले राजनीतिक गरेको हुँ, युवाहरु विदेश पलायन हुँदा मलाई चिन्ता लागेको छ। युवालाई स्वदेशमा रोजगारी दिने वातावरणमा लाग्नुपर्छ,’ उनले भने।  

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको दबी गर्दै संविधानमा भएको कमी कमजोरीलाई सच्याउँदै र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update