हिमाल दैनिक
शीर्ष नेताको बैठकमा एमालेले भन्योः गिरीबन्धुमा ओलीको संलग्नताबारे बोल्ने कांग्रेसले माफी माग्नु पर्छ

सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको दाबी गर्दै लिखित रुपमा क्षमायाचना गर्न माग गरेको छ।

संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको बैठकमा एमाले नेताहरुले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने धारणा राखेका हुन्।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर कांग्रेस नेताहरुको तथ्यहिन अभिव्यक्ति आएको भन्दै एमालेको आपत्ती रहेको बताए।

उनले आधारहीन आरोपबाट कांग्रेस पछि नहटे राजनीतिक प्रतिवादमा उत्रने चेतावनी पनि दिए।

विशेषगरी सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको गिरीबन्धु टि–स्टेटको ३४१ विगाह जग्गा गैरकानुनी रुपमा सट्टापट्टा र विक्री वितरण गर्ने पूर्ववर्ती सरकारका निर्णहरु बदर गरेलगत्तै अध्यक्ष ओलीले उक्त जग्गा विगतमा कांग्रेस नेतृत्वको सरकारले कानुन विपरित विक्री, वितरण गरेकोमा आफूले कानून बनाएर कानुन बमोजिम निर्णय गरेको दाबी गरेका थिए।

तर, अदालतको फैसला र सरकारी निकायको निर्णय प्रक्रियासम्बन्धी आधिकारिक दस्तावेज अनुसार, उक्त कम्पनीको जग्गा तत्कालीन नेकपा एमाले अध्यक्ष मनमोहन अधिकारी, राप्रपाका पूर्व अध्यक्ष सूर्यबहादुर थापा र स्वंय अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेलामा भएको तथ्य सार्वजनिक भएको थियो।

त्यसलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममार्फत प्रतिवाद गर्दै उक्त जग्गाको विषयमा विगतमा पार्टी नेता गिरिजाप्रसाद कोइराला र आफ्नो कार्यकालमा कुनै निर्णय नगरेको स्पष्टिकरण दिँदै ओलीलाई आफूले गरेको निर्णयमा जिम्मेवारी लिन सुझाव दिएका थिए।

ओलीको आरोपलाई देउवाले खण्डन गरेलगत्तै सरकारी निकायको कागजात र तथ्य प्रमाणका आधारमा मिडियादेखि सामाजिक सञ्जालमा गिरीबन्धुको जग्गा कारोबारको सम्पूर्ण जिम्मेवारी ओलीको टाउकोमा थोपरिन पुगेपछि कांग्रेसका नेताहरुले गिरीबन्धूको विषयलाई सहकारी ठगी प्रकरणसँग जोड्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका थिए।

त्यसपछि रक्षात्मक अवस्थामा पुगेका एमालेले सोमबार सहकारी ठगी प्रकरणबारे संसदीय छानविन समिति गठनको विवाद समाधान गर्न बोलाइएको बैठकमा नयाँ विवाद निकालेर सहकारीको विषयलाई पनि ओझेलमा पार्ने कोशिश गरेको हो।

नेता पौडेलले शीर्ष नेताको बैठकमा संसदको गतिरोध खुलाउने र संसदीय समितिको कार्यदेशका बिषयमा छलफल भएपनि निष्कर्ष निकस्न नसककेको जानकारी दिएका थिए। उनले कांग्रेस सहमतिमा पुग्नुभन्दा पनि परिस्थिति बिथोल्न लागि परेको आरोप समेत लगाए।

बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय छानविन समिति गठनका लागि कांग्रेसले राखेको अडान कायमै रहेको जानकारी दिए।

उनले प्रधानमन्त्रीले सहमतिको प्रयास गरेपनि सत्तारुढ दलका अन्य नेताहरु भने समस्या समाधान गर्न उन्मुख नरहेको आरोप लगाए।

परियारले दलहरुबीच आन्तरिक छलफल गर्ने गरि शीर्ष नेताहरुको बैठक सकिएको जानकारी दिए।

परियारले लाखौलाख सहकारी बचतकर्ताको रकम फिर्तालाई पहिलो प्राथमिकता राखेको र सहकारी प्रकरणमा संलग्न रवि लामिछाने र गोर्खा मिडियामाथि छानविन हुनुपर्ने अर्को माग रहेको बताउँदै कांग्रेसले राखेका बिषयलाई गलत व्याख्या गर्दा गलत सन्देश गएको दाबी गरे।

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update