हिमाल दैनिक
संसदीय छानविन समिति गठनका लागि दलहरुले गरेको सहमतिलाई कांग्रेस संसदीय दलको अनुमोदन

नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन प्रमुख दलबीच भएको सहमतिलाई औपचारिकता दिँदै अनुमोदन गरेको छ।

संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दल बैठकले दलहरुबीच सहकारीको रकम अपचलन, हिनामिना भएको सम्बन्धमा छानविन गर्नका लागि छानविन समिति गठनको माग गर्दै आएकोमा यसबारे सोमबार प्रमुख राजनीतिक दलबीच भएको सहमति र समितिको कार्यादेशमा भएको सहमतिलाई अनुमोदन गरेको हो।

बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले छानविन समिति गठनका लागि निष्कर्षउन्मुख सहमति भएको ठहर गर्दै त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको बताए।

लेखकले समितिमा रहने सदस्यहरुको संख्याका अतिरिक्त समितिको कार्यावधिबारे पनि मोटो सहमति भएको जानकारी दिए।

सोमबार सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको सहमतिलाई ‘निश्कर्षउन्मुख सहमति’को संज्ञा दिँदै नेता लेखकले भने, ‘हिँजो भएको निश्कर्षउन्मुख सहमतिलाई आज नेपाली कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको छ।’

छानविन समितिको कार्यादेश तयारीका लागि कांग्रेसका प्रतिनिधिद्वय सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्कीले आजै कार्यदलको बैठकबाट सहमति पत्रलाई अन्तिम रुप दिएपछि उक्त सहमतिका आधारमा आजै संसदको अपरान्ह ४ बजे बस्ने बैठकमा पेश गरी कार्यादेशको सहमति पारित गरी संसदीय छानविन समिति गठन हुने बताए।

साथै उनले समितिमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम आजै ३ बजेसम्ममा संसद सचिवालयमा बुझाउने तयारी रहेको जानकारी पनि उनले दिए।

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update