हिमाल दैनिक
चित्रबहादुर केसीले भनेः ए अचम्म! सहकारी ठगमाथि कारबाहीको माग गर्दा तिनै ठगहरुले नै यहाँ खिस्सीट्यूरी गर्छन् त!

विगत केही समयदेखि संसदको बैठक अवरुद्ध भएको विषयमा सत्तापक्षकै सांसदले व्यक्त गरेको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले कडा प्रतिवाद गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता केसीले विगतमा केही समय संसद बन्द भएको विषयलाई विगतमा जनताको पसिनामा पौडी खेलेकै व्यक्तिहरुले सदनभित्र खिस्सीट्यूरी गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘केही दिन यहाँ संसद बन्द भयो। त्यो संसद बन्द भएको कारणलाई लिएर यहाँ खिस्सीट्यूरी भएको छ। त्यो खिस्सीट्यूरी पनि यहाँ कसले गरेको छ भन्दाखेरी सहकारीमा निर्मम तरिकाले जनताको पसिनामा जल्ले पौडी खेलेको छ, त्यस्ता मान्छेलाई कानूनी कारबाही भन्ने कारणले त्यो चाही बन्द भएको हो। जसमा राष्ट्रिय जनमोर्चा पनि सहमत छ।’

आजको संसद बैठकको सुरुवातमा विशेष समय लिएर नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विगत केही समय विना कारण सदनको कारबाही अवरुद्ध गरेर जनताका जल्दाबल्दा समस्याबारे सदनभित्र बोल्न नपाएको आरोप लगाएका थिए।

देशका विभिन्न शहरस्थित सहकारीको ठूलो धनरासी गोरखा मिडिया नेटवर्क प्रा.लि.को खातामा अवैधानिक रुपमा स्थानान्तरण गरी लाखौँ सहकारीका बचतकर्ताको बचत हिनामिना गर्ने कार्यमा उक्त कम्पनीका प्रवन्ध निर्देशक एवं वर्तमान गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानविन समितिको माग राख्दै विषक्षी दलले सदन अवरुद्ध पारेका थिए।

रास्वपा अध्यक्ष समेत रहेका लामिछाने र उनको कम्पनीको विषयमा छानविन गर्ने विषयमा सत्ता र प्रतिपक्षीबीच लामो समय विवाद हुँदा संसदीय समिति गठन गर्न र सदनको अवरोध हटाउन ढिलाई भएको थियो।

सांसद केसीले विगतमा आफू पनि सहकारी मन्त्रीको रुपमा केही समय रहेको अनुभवका आधारमा सहकारीको रकम हिनामिना गर्ने कार्यमा सर्वसाधारण मानिसहरु नभएर राज्य सत्तामा रहेका दलसँगै तिनको संरक्षणणबाट र तिनका दलालहरुबाट, स्वयं कतिपय अवस्थामा सांसद र मन्त्री भइसकेका मान्छेहरु नै संलग्न रहेको दाबी गरे।

उनले उच्च तहका मानिसको संरक्षणमा सहकारी संचालन गर्दै बचत हिनामिना गर्नेहरुमाथि कानूनी कारबाही गर्नेभन्दा राज्यसत्ताको निर्णायक ठाउँमा बस्नेहरुले नै सहकारी ठगहरुलाई जोगाउने, बचाउने आशंका व्यक्त गरे।
सहकारीको रकम हिनामिना भएपछि अहिलेसम्म कतिवटा समिति बने भन्ने प्रश्न गर्दै समास्या आएपछि मात्रै संसदभित्र छलफल हुने, जनता आन्दोलित हुने र समिति बन्ने गरेको बताए।

उनले थप्दै भने, ‘अझै यसपाली त आश्चर्यको कुरा, सहकारीको रकम हिनामिनाबारे संसदीय समिति बनाउनु पर्यो भनेर सहकारीको रकम हिनामिनामा संलग्न मान्छेकै बारेमा कुरा गर्दा जिम्मेवार ठाउँमा बसेका मान्छेहरुले नै लाजमर्दो किसिमले रोष्ट्रमबाटै तँ पनि फलानोमा परेको छस्, तँ पनि ढिस्कानोमा परेको छस्, तँ पनि परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने, उम्काउने र राज्यको निर्णायक तहमा बसेका मान्छेहरुको गतिविधि देखियो। यसबाट के बुझिन्छ भने, यो समितिले पनि पहिलेका झैँ सहकारीबाट ठगीएका जनतालाई माछो, माछो भ्यागुतो गराउँछन् भन्नेकुरामा स्वयं सहकारीबाट ठगीएका जनताहरुले त्यही बुझिराखेका छन्।’

उनले सरकार जोगाउने नाममा विगतमा जस्तै सहकारी ठगीमा किटानीसाथ जनताले सदन र सडकमा उठाएको आवाज दबाउने भन्दा दोषी र ठगहरुलाई जनताले देख्नेगरी छानविन समितिले काम गर्न सुझाव दिए।
 

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update