हिमाल दैनिक
न्यौपानेको प्रश्नः मन्त्री र सांसदलाई नौरंगी फेसनमा छुट, हाफपाइन्ट र चप्पल लगाएका जनतालाई सिंहदरबार र संसदमा प्रवेश निषेध! किन?

नेपाली कांग्रेसकी नेतृ एवं सांसद ईश्वरी न्यौपानेले मन्त्री र सांसद नौरंगी फेसनमा संसद र सिंहदरबार आउन पाउने तर, सर्वसाधारण गरिव जनता हाफ पाइन्ट लगाएर सिंहदबारभित्र र चप्पल लगाएर संसद भवनभित्र प्रवेश गर्न किन नपाउने भनि सरकारसँग जवाफ माग गरेकी छिन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद न्यौपानले केही समयअघि दूरदराजका गाउँहरुबाट संसदको बैठक अवलोकन गर्न आएका सर्वसाधारणलाई संसद भवनबाहिर गेटबाट माथि दर्शकदीर्घमा जान रोकिएको प्रसंगसँगै आफूसँगै हाफ पाइन्ट लगाएर बाइकमा गएका एक युवकलाई सिंहदरबार प्रवेशमा रोक लगाएको विषयबारे प्रश्न उठाएकी हुन्।

उनले भनिन्, ‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कति जना छौँ? हामी साडीमा आउँछौँ कि? हामी कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि? हामी आफ्नो मातृ ड्रेस लगाएर आउँछौँ कि? मैले पढ्ने बेलामा फ्रक भनिन्थ्यो सभामुख महोदय। आज यो संसदमा कोही फ्रक लगाएर आउनु भएको छ, कोही टिसर्ट र पाइन्ट लगाएर आउनु भएको छ, कोही जम्फर लगाएर आउनु भएको छ, कोही त्यो के रे? गरारा भन्छ, कोही सरारा भन्छ। हामीलाई चाहीँ सब्बै छुट् अनि जनतालाई चाहीँ त्यसमा बन्देज?’

देशको कानून, नियम निर्माता सांसदहरुको भूमिकाबारे चर्चा गर्दै उनले भनिन्, ‘नियम बनाउने हामीले, नियम बनाउने हामी माननीयजीहरु जसले जस्तो लगाएर यहाँ आएपनि भो। नौरंगी फेसन लगाएर आएपनि हुन्छ, हामीले चाही केही गर्न नपर्ने, विचरा जनताहरु हाफपाइन्ट लगाएर प्रवेश नपाउने सिहंदरबारको ढोकामा, चप्पल लगाएर माथिबाट हेर्न नपाउने संसदमा?’

सभामुखमार्फत उनले हाफपाइन्ट लगाएर सिंहदरबार र चप्पल लगाएर संसद भवनमा प्रवेश नपाउनुको कारण के हो? नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउँछन्? बाहिरतिर पनि हेरौँ। बाहिर व्यक्तिगत जीवनमा जे लगाएपनि हुन्छ, तर, सांसदको रुपमा संसद भवनमा प्रवेश गर्दा कस्तोे ड्रेस लगाएर पस्नु पर्छ भन्ने कुराबारे सभामुखबाट पनि रुलिङको माग गरिन। साथै उनले सर्वासाधारण जनतालाई के कारणले रोकियो भन्ने प्रश्नको जवाफ माग गरिन।

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update