हिमाल दैनिक
गठबन्धनको बैशाखीमा लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्याकालका लागि भारतको प्रधानमन्त्री बन्ने दोस्रो व्यक्ति हुने भएका छन्।

भारतमा हालै सम्पन्न १८औं लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएपश्चात सहज बहुमत प्राप्त गर्न सफल नेशनल डेमोक्रेटिक एलायन्स (एनडिए)मा सहभागी दलका सांसदहरुले नयाँ सरकारको नेतृत्वका लागि मोदीको नाम सर्वसम्मत चयन गर्दै आफ्नो साथ र समर्थन व्यक्त गरेपछि सन २०१४ देखि लगातार तेस्रो कार्यकालका लागि मोदीलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको हो।

भारतीय समाचार एजेन्सीहरुका अनुसार, शुक्रबार बसेको एडिएमा सहभागी १३ दलका नेता तथा २९३ सांसदहरुको बैठकले मोदीलाई गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको
हो।

बैठकमा निवर्तमान रक्षामन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) नेता राजनाथ सिंहले मोदीको नाम प्रधानमन्त्री पदका लागि प्रस्ताव राखेलगत्तै गृहमन्त्री अमित शाहले समर्थन तथा नितिन गडकरीले अनमोदन गरेका थिए।

गठबन्धनमा सबैभन्दा ठूलो दल भाजपाका नेताहरुको प्रस्तावमा एनडिएमा सहभागी दोस्रो ठूलो दल तेलगु देशम् पाटीका प्रमुख चन्द्रबाबु नायडू तथा तेस्रो ठूलो दल जनता दल युनाइटेडका अध्यक्ष नितेशकुमारले मोदीको समर्थन जनाएको समाचारमा उल्लेख छ।

नयाँदिल्लीस्थित पुरनो संसद भवनस्थित सभा हलमा सत्ता गठबन्धन निकट नवनिर्वाचित सबै सदस्यका अतिरिक्त सत्ताधारी दलका सबै प्रदेशका मुख्यमन्त्री तथा प्रभावशाली नेताहरु उपस्थित बैठक कक्षमा प्रवेश गरेलगत्तै प्रधानमन्त्री मोदीले सभा कक्षमा राखिएको भारतीय संविधानको सबैभन्दा पहिला गएर ढोग्दै सबैलाई अभिनन्दन गरेका थिए।

चुनावअघि ‘अगली बार ४०० पार’को नारासहित संविधानमा कतिवय प्रावधानहरु संशोधन गर्ने बताउँदै आएका मोदीका विरोधीहरुले एनडिएले चुनाव जितेको खण्डमा भारतीय लोकतन्त्र र संविधान खतरामा पर्ने दाबी गर्दै मतदाताहरुसँग मत मागेपछि त्यसको जवाफ दिनेक्रमा मोदीले संविधानलाई ढोगेका थिए।

विगत ५ वर्षको अवधिमा पार्टीका पुराना र शीर्ष नेताहरुको भन्दा आफ्नो व्यक्तित्व माथि देखाउँदै हरेक कुरामा मोदीले बोलेपछि सक्कियो भन्ने भाष्य निर्माण गर्दै आएका मोदीले आजको बैठकमा सम्बोधन गर्ने क्रममा भने पुराना नेताहरुको नाम लिएर सम्मान प्रकट गरेका थिए।

बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आगामी कार्यकालको मुख्य दायित्व र एकमात्र लक्ष्य भारत माता र देश विकासको रहेको बताएका थिए।

समाचार एजेन्सीहरुका अनुसार, एनडिए गठबन्धनका नेतासहित मोदीले आजै राष्ट्रपति समक्ष नयाँ प्रधानमन्त्री पदमा नियुक्तिको दाबी पेश गर्ने र समभवत् उनले आइतबार साँझ विशेष कार्यक्रमकाबिच पद तथा गोपनीयताको सपथ लिने छन्।

सन ०१४ देखि लगातार १० वर्ष शासनसत्ता चलाएका मोदीले नयाँ सरकारको नेतृत्व लिएपछि उनी भारतको ६० वर्षयताको इतिहासमा जवहरलाल नेहरुपछि लगातार तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बन्ने दोस्रो नेताका रुपमा स्थापित हुनेछन्।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update