हिमाल दैनिक
प्रम दाहाललाई लेखकको प्रश्नः भारत भ्रमणसँगै गृहमन्त्री रविका बारेमा जवाफ लेख्दै हो कि, जवाफ नभएर सदनबाट भाग्दै?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदको आगामी बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी गराउनु माग गरेका हुन्।

छिमेकी मुलुक भारतमा हालै सम्पन्न निर्वाचन परिणाम पश्चात भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि आइतबार नियुक्त भई पद तथा गोपनीयताको सपथ लिएका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले स्वदेश फर्किएको पाँच दिनसम्म पनि सदनलाई आफ्नो भ्रमणको विषयमा जानकारी नगराएपछि लेखकले यसबारे सभामुखसँग रुलिङको पनि माग गरे।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले बधाई तथा शुभकामना दिन जानु भयो, यो सबै कुरा ठिक हो। तर, यी सबै कुरा गर्दा, सम्माननीय प्रधानमन्त्रीज्यू हाम्रै सदन, यही संसद, यही गरिमामय संघीय संसदलाई बिर्सिनु भो कि भन्ने म आग्रह गर्न चाहन्छु,’ उनले भने।

लेखकले प्रधानमन्त्री विदेश भ्रमणमा जादा नै आफ्नो कार्यक्रमको तालिका, उद्देश्यबारे सदनमा जानकारी गराउने परम्परा र अभ्यास रहेको उल्लेख गर्दै भने, ‘सम्माननीय प्रधानमन्त्रीजी आजभन्दा एकहप्ता पहिला जानु भएको छ, उहाँ फकिएर आउनु भएको पनि आज पाँच दिन भइसकेको छ। ...प्रतिपक्षी दल नेपाली कांग्रेस अत्यन्त धैर्यतापूर्वक रचनात्मक प्रतिपक्षका रुपमा कुरेर बसेका थियौँ। सम्माननीय प्रधानमन्त्रीजी यो सदनमा उपस्थित हुनुहोला। भारत भ्रमाणका बारेमा आफ्नो जानकारी गराउनु होला। र सदनले पनि थाहा पाउला भनेर हामी कुरेर बसेका थियौँ। तर, पाँच, पाँच दिनसम्म प्रधानमन्त्रीजी यहाँ आउन सक्नु भएन। मैले उहाँलाई स्मरण गराउनु पर्ने भयो।’

देशको कार्यकारी प्रमुख प्रधानमन्त्री सदनको पनि नेता भएको उल्लेख गर्दै प्रधानमन्त्री नै विदेश भ्रमण जाँदा सदन नै अनविज्ञ रहनु पर्ने, जानकारी नपाउनु पर्ने र पत्रिका पढेर थाहा पाउनु पर्ने स्थितिमा प्रतिपक्षीको हैसियतले आफूले प्रधानमन्त्री यो सदनको नेता हो भनेर स्मरण गराउनु पर्ने आफ्नो सौभाग्य हो कि सरकारको दुर्भाग्य हो भनि प्रश्न गरे।

यसैगरी उनले राष्ट्रपतिको विदेश भ्रमणका बारेमा पनि सदनमा जानकारी गराउन पनि माग गरे।

देशको राष्ट्रपति, प्रधानमन्त्रीको विदेश भ्रमणका बारेमा पत्रपत्रिकाबाट थाहा पाउने अवस्था दुर्भाग्य भएको बताए।

लेखकले सरकारका कारणले संसदको न्यूनतम मर्यादा र गरिमा पनि कायम हुन नसकेकाले खेद व्यक्त गर्नुपर्ने उत्पन्न भएको बताए।

केहि समयपहिला सरकारका उपप्रधानमन्त्री माननीय रवि लामिछानेले सदनमा बोल्ने क्रममा संसदमै रहेका केही नेताहरुमाथि अत्यन्त ज्यादा लाञ्छनापूर्ण ढंगले आफ्ना अभिव्यक्तिहरु दिएको भन्दै उनले आफूहरुले यसबारे स्वयं प्रधानमन्त्रीले जवाफ दिनु पर्छ भनेर माग गरेको उनले बताए।

यसका बाबजूद प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको अवस्थाबारे व्यंग्य गर्दै लेखकले भने, ‘मैले के विश्वास गरौँ, हामीले माग गरेका कुराको जवाफ प्रधानमन्त्रीजीले तयारी गरेर बसिरहनु भएको हो कि? त्यो तयारी सकेपछि प्रधानमन्त्रीजी एकैचोटी आउँला भनेर हो कि अथवा त्यसको जवाफ दिन नसकेको कारण डराएर सदनबाट भाग्न खोज्नु भा को हो? मैले के अनुमान गर्ने सभामुख महोदय?’

उहाले कांग्रेसले उठाएका बिषयमा सरकारका तर्फबाट जानकारी गराउनका लागि सभामुखसँग रुलिङको माग पनि गरे।

त्यसपछि सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले विशेष समय, सून्य समय लगायत समयमा सांसदहरुले उठाएको प्रश्नहरुको विषयमा सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update