हिमाल दैनिक
प्रधानमन्त्री दाहाललाई न्यौपानेको प्रश्नः भारत भ्रमण पारिवारिक भेटघाट थियाे कि, राजनीतिक?
file photo

प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भारत भ्रमणमा देखिएका परिदृश्यलाई लिएर नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले उक्त भ्रमण प्रधानमन्त्रीको पारिवारिक भ्रमण हो कि राजनीतिक भनि गम्भीर प्रश्न उठाएकी छिन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस नेतृ एवं सांसद न्यौपानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालयको सपथ ग्रहण समारोहमा गत आइतबार सहभागी हुन नयाँ दिल्ली गएका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीदेखि अन्य सरकारी तथा राजनीतिक भेटघाटका क्रममा कुटनीतिक मर्यादा र संस्थागत रेकर्डको वेवास्ता गरिएकोमा आपत्ति प्रकट गरिन।

उनले भनिन्, ‘भ्रमणका फोटोहरु सार्वजनिक भएका छन्, हेर्दा पारिवारिक, राजनैतिक या कुन भेटघाट हो ठम्याउन सकिन। पारिवारिक भन्ने हो भने भारतका प्रधानमन्त्रीको  कोहि सदस्य देखिदैनन्, राजनैतिक भन्ने हो भने भ्रमणदलका मन्त्री या आधिकारिक सदस्यको ठाउँमा पारिवारिक सदस्यको उपस्थिति छ। वन टु वन भन्ने हो भने तेश्रोको अनावश्यक हस्तक्षेप देखिन्छ। यो परिस्थितिमा मेरो देशको प्रधानमन्त्रीको कुरा छिमेकि राष्ट्रले कति गम्भीरतापूर्वक लियो होला, सहजै अनुमान गर्न सकिन्छ।’

प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफूसँगै गएकी छोरी गंगा दाहाललाई आफ्नो साथमा राखेको विषयले प्रधानमन्त्रीको कुटनीतिक कमजोरीबारे प्रश्न उठेको थियो।

भ्रमण दलमा परराष्ट्र सचिव पनि साथै गएपनि सरकारी सचिव भन्दा माथिल्लो मर्यादा क्रममा प्रधानमन्त्रीकी छोरीलाई राखेको विषयमा प्रश्न गर्दै उनले भनिन्, ‘भ्रमण दलमा परराष्ट सचिवज्यू जानुभएको रहेछ तर, बस्ने स्टाटस  पि ए को भन्दापछि राखिएको अर्को फोटो सार्वजनिक भएको छ। सभामुख महोदय, यस्ता कृयाकलापले केहिक्षणकै लागि भएपनि प्रधानमन्त्रीज्यूको पारिवारिक सदस्को उचाई त बढ्यो होला, देशको उचाई कहाँ पुग्यो? प्रधानमन्त्रीको लागि देश ठूलो कि परिवार? कुन देशमा छ यस्तो प्रचलन?’

यसैगरी भारत जानु तीन दिनअघि सरकार स्वयंले हतारमा फिर्ता बोलाइएका राजदूतलाई नै भारतीय सरकारी तथा राजनीतिक भेटघाटका क्रममा सहभागी गराएर सरकारले कुटनीतिक कमजोरी गरेको आरोप उनले लगाइन्।

यसका बाबजूद भारत भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयमा सरकारले कमजोरी गरेको मात्र स्वीकारोक्ति गरेका छैनन्, फिर्ता बोलाइएका राजदूतले भ्रमणका समयमा राम्रो सहयोग गरेको भनेर गरेको प्रसंशाप्रति उनले भनिन्, ‘सरकार कसरी चलिरहेको छ यहि एउटा घटनाले प्रष्ट पार्दछ।’

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update