हिमाल दैनिक
ट्यांकर चालक संघ र सरकारबिच ४ बुँदे सहमति पश्चात खुल्ने भए पेट्रोल पम्पहरु

सरकार र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच चार बुँदे सहमति भएको छ।

बिभिन्न माग राख्दै आन्दोलनरत संघ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयबीच सोमबार सिंहदरबारमा भएको वार्तामा ४ बुदे सहमति भएको हो। सहमतिसंगै पेट्रोलियम ट्यांकर चालकहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन्।

सरकार र सम्बन्धित निकायबाट माग पूरा गर्न चालकहरुले इन्धन आपूर्तिमा गरेको अवरोधका कारण सोमबार बिहानैदेखि उपत्यकाका सबै निजी पेट्रोल पम्पहरुमा ताला लागेको थियो। जसको कारण नेपाल आर्मी, नेपाल पुलिस र नेपाल सशस्त्र प्रहरीले संचालन गर्दै आएका पेट्रोल पम्पहरुमा इन्धन भर्नका लागि सवारी साधानको भिड लागेको थियो।
पेट्रोलियम ट्यांकर चालकका मागका साथै यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न १५ दिनभित्र प्रतिवेदन पेश गर्न उपसमिति गठन गर्ने सहमति भएको छ।

त्यस्तै आयल निगमले व्यवसायीहरुलाई दिँदै आएको पारिश्रमिक र सुविधा ट्यांकर चालक÷सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने सहमति भएको वाणिज्य तथा आपूति सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।

उनले पेट्रोलियम ट्यांकर चालकका समस्याप्रति सरकार गम्भीर भएकाले सहमति कार्यान्वयन हुने आश्वासन व्यक्त गरे।

त्यस्तै नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले १५ दिनभित्र सम्पूर्ण मजदुरहरुको माग पुरा हुने विश्वास व्यक्त गरे।

त्यसअवधिसम्म पनि आफुहरुको माग पुरा हुन नसके उपत्यकामा मात्रै नभइ देशैभरको डिपो लोड बन्द गर्ने चेतावनीपूर्ण जानकारी उनले दिए।

त्यस्तै दुईपक्षबीच विद्यमान कानूनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति भएको छ। ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने सहमति भएको संघका अध्यक्ष लामाले बताए।

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update