हिमाल दैनिक
भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यात्दै संसदमा यसरी आक्रोस पोखे राजेन्द्र लिङदेनले

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट पुस्तीका च्यातिदिएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै लिङ्देनले बजेट पुस्तीका च्यातेर विरोध जनाए।

उनले आफूलाई सामान्यतय निकै नरम प्रवृतिको मान्छे भएपनि भौतिक पूर्वाधार मन्त्रालयको बजेट विनियोजन पुस्तिका देख्नेबितिकै रिस उठेको अहिलेसम्म पनि शान्त नभएको भन्दै पुस्तिकालाई हातमा लिएर च्यात्दै बैठक कक्षमा हुर्र्याउन मन लागेपनि संसदीय मर्यादालाई ख्याल गर्दै पोडियममै राख्ने बताए।

लिङ्देनले संसदको हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रबाहेकका सांसदहरुको बजेटमाथि आक्रोश नै रहेको बताए।

उनले पहुँचका भरमा राज्यको स्रोतमाथि मनपरी खेलबाड गरेको आरोप सरकार र सरकारका मन्त्रीमाथि लगाए। उनले सामान्य लाजघिन पनि नराखी सरकार र मन्त्रीले कतिपय जिल्लाको नाम राख्दा धेरै देखिन्छ भन्ने लागेर होला, जिल्लाको नाम उल्लेखै नगरीकन पनि बजेट विनियोजन गरिएको बताए।

उनले अहिलेको व्यवस्था आउनुअघिका दिनमा गाउँपालिकादेखि संसदसम्म तहगत प्रक्रिया पार गर्दै तय गरिने अभ्यासको चर्चा गर्दै अहिले व्यक्ति वा मन्त्रीको गोजीबाट चिर्कटोको भरमा बजेट विनियोजन गरिएको आरोप लगाए।

उनले अहिले बजेट बनाउने मौका पाउँदा मन्त्रीहरुले देखाएको गलत कामले अहिलेको व्यवस्थामाथि उठेको आक्रोश सहि पुष्टि हुदै गएको दावी गरे।

उनले संसदमा रहेका सबै सांसदहरु जनताको मत लिएर आएको भन्दै बजेटको बितरणमा देखिएको पक्षपातपूर्ण विनियोजन उचित नभएको तर्क बताए।

उनले अहिलेको शासन व्यवस्था विफल बनाउने कार्यमा स्वयं सरकारका मन्त्रीहरु नै जिम्मेवार भएको भन्दै यही निर्वाचन प्रणाली र शासन व्यवस्थाका भरमा मुलुक धेरै लामो समय चल्न नसक्ने दाबी गरे।

 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update