हिमाल दैनिक
गृहमन्त्री रविलाई लल्कार्दै कांग्रेस नेता थानीले सोधेः यी तीन वटा फाइल ... खोल्ने ताकत छ?

केही समयअघि गृहमन्त्री रवि लामिछानेले तीन वटा फाइल खोल्ने हो भने नेपालका अधिकांश नेताहरु जेलमा हुन्छन्, संसदमा होइन भनि दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका सांसद हृदयराम थानीले त्यी फाइल कुन कुन हुन् र खोल्न किन ढिला गरेको भनि प्रश्न गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय लगायतका विभिन्न मन्त्रालय र संवैधानिक निकायका लागि ०८१/८२ को विनियोजन विधेयकमाथि प्रतिनिधि सभाको बैठकमा जारी छलफलमा भाग लिँदै कांग्रेस सांसद थानीले गृहमन्त्री लामिछानेलाई ठाडो चुनौति दिए।

विभिन्न सहकारीको बचत गोरखा मिडियामा लगानी गर्ने नाममा बचतकर्ता ठगेर फरार रहेका जिबी राईलाई आफूले आकाश पाताल जहाँबाट पनि खोजेर ल्याउनेदेखि उनलाई अघिल्लो सरकारले नै भगाएको भनि भरतपुरमा लामिछानेले दिएको अभिव्यक्ति स्मरण गराउँदै थानीले यसबारे गृहमन्त्रीसँग जवाफ मागे।

विगतमा शान्त र सालिन शैलीमा आफ्ना अभिव्यक्ति दिने गरेका थानीले आजको बैठकमा अलि कड्किएर आक्रोसित हुँदै प्रश्न गरे, ‘त्यतिबेला को थियो प्रधानमन्त्री? सम्माननीय पुष्पकमल दाहाल हुनुहुन्छ। को हो गृहमन्त्री? माननीय नारायणकाजी श्रेष्ठ। नारायणकाजीजी तपाइकै अगाडि नै हुनुहुन्छ। (बैठकमा श्रेष्ठ मन्द मुस्कानका साथ टाउको हल्लाउँदै) आज कसरी भगाउनु भयो कि भएन अगाडिको सरकारले?’

त्यसैगरी उनले तीन वटा फाइलको विषयमा प्रश्न गर्दै त्यी फाइल कुन कुन हुन् र किन खोल्न ढिला गरेको भनि प्रश्न गरे।
यसका लागि सिंहको मुटु चाहिँछ, फिस्टाको होइन भनि अभिव्यक्ति दिएका लामिछानेको भनाई स्मरण गराउँदै थानीले त्यी तीनवटा फाइलमध्ये गिरीबन्धु टि–स्टेट, क्यान्टोनमेन्टको घोटालासँगै यति, ओम्नी प्रकरणका फाइल खोल्न सक्ने ताकत छ कि सिंहको मुटु भएको मान्छे अहिले उठ्ने बेला भएको छैन भनि प्रश्न गरे।

कांग्रेसका नेताहरुलाई धम्क्याउन रविले यसअघि संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै उनले त्यसबारे चुनौतिको भाषामा भने, ‘ल नेपाली कांग्रेसले भन्यो, आफूले ल। ताकत छ, तीनवटा फाइल कसको हो? कुन कुन नेताको हो? हिक्मत छ?’

प्रस्तुत छ सांसद हृदयराम थानीले मंगलबारको संसदमा दिएको अभिव्यक्तिको सम्पादित अंशः

सम्माननीय सभामुख महोदय,

विशेष गरेर आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको बारेमा छलफल पनि हामी गर्दैछौँ।
यी सबै आज सम्माननीय प्रधानमन्त्री र माननीय उपप्रधानमन्त्रीज्यूहरुले कार्यभार लिएका मन्त्रालय पनि हुन्।
आज सम्माननीय प्रधानमन्त्री र माननीय उपप्रधानमन्त्रीज्यूहरुको मन्त्रालय परेको छ। यसो विशेष हेर्दा पनि आजका मन्त्रालयहरु महत्वपूर्ण पनि छन्। उपप्रधानमन्त्रीज्यूहरुले महत्वपूर्ण मन्त्रालयहरु सम्हालेको अवस्था पनि छ।

प्रधानमन्त्रीज्यू त यहाँ आइपुग्नु भएन, प्रधानमन्त्रीको प्रतिनिधि त आउनु भा छ। तर, माननीय उपप्रधानमन्त्रीज्यूले देख्नु भो होला, यो रोष्ट्रमको दृश्य। आज यो रोष्ट्रमको दृश्य कसका कारणले यो हुन पुग्यो?

यसका बारेमा अलिकति पनि चिन्ता छ, मुलुकका बारेमा, प्रजातन्त्रका बारेमा चिन्ता छ भने, आज ‘मै खाउँ, मै लाउँ’ भन्दा के हुने रहेछ, परिस्थिति?

रोष्ट्रममा किताब च्यात्तिएको मैले त्यहाँबाट देखेँ, माननीय उपप्रधानमन्त्रीज्यूले देख्नु भो कि देख्नु भएन?

हिँजो प्रजातन्त्रका लागि सबैले समानरुपमा लडेका हौँ भन्ने व्यक्तिहरुले आज आफ्नै निर्वाचन क्षेत्रमा धेरै कुरा खन्याउँदा आज अनुहार उज्यालो हुन्छ कि अध्यारो हुँदोरहेछ त्यसको पनि महसुस गर्नु भयो कि भएन तपाईहरुले?

आज हामीले सबै कुरा गरेका हौँ, भन्दाखेरि रोष्ट्रमबाट औँलो ठड्याउँदा, त्यो औँलो तपाईले सांसदका लागि ठड्याएको भन्ने सोच्नु भो कि आफ्ना लागि औँलो ठड्याएको भन्ने कुरा तपाईहरुले सोच्नु भयो?
यसतर्फ तपाईहरुको ध्यान जान अत्यन्त आवश्यक छ।

समयका कारणले म धेरै त होइन, प्रतिनिधि सभा नियमावली २०७९ को नियम १४६, १४७ को अधिनमा रहि नियम १४८ बमोजिम विनियोजन विधेयक २०८१ बमोजिम गृहमन्त्रालयको चालु ३१०००१११३ शिर्षक अन्तरगत उपशिर्षक २२५२९ मा नितीगत मेरो असहमति छ।

चालु आर्थिक वर्ष उक्त उपशिर्षक २२५२९ मा किटानीसाथ शीर्षक नखुलेको हुँदा उपरोक्त रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने मेरो गृहमन्त्रालय र गृहमन्त्रीजीसँग आग्रह छ।

यस कुरालाई माननीयज्यूहरुले पनि सहयोग गर्नु हुने छ भन्ने आशा गरेको छु। किन भने विविध भन्ने वित्तिकै यो अघिकै भाषा प्रयोग नगर्दा पनि यो पहुँचको आधारमा चलाइने कुरा भो।

यो शक्तिकै आधारमा चलाइने कुरा भो। भोलि गृहमन्त्रीलाई जहाँ मन लाग्यो, त्यहीँ लगेर राख्नु पर्ने भो। रकमान्तरण गर्नु पर्ने भएन। महालेखालाई घुसाउन पनि सजिलो परिस्थिति आयो। त्यसैले, मेरो आग्रह के हो भने, विविध भन्ने ठाउँमा के कुरामा चाहिएको थियो, किटानी गरी राखिदिएको भए धेरै बेस र पारदर्शी पनि हुन्थ्यो।

कुरा गर्दा हामी पारदर्शीताका कुरा गर्छौँ। मन्त्रालयमा आफूले आँखा लगाएर राखेको बजेट आफूले कहाँ लगेर थन्क्याउने हो, त्यसका बारेमा मात्रै सोच्ने तपाईहरुले गर्दा मुलुकको अवस्था कहाँ पुग्छ भन्नेबारे पनि अध्ययन गर्नुहोस्, ध्यान गर्नुहोस् भन्ने आग्रह पनि छ।

जहाँसम्मको कुरा छ, विशेष गरेर म पहिले गृहमन्त्रालयकै विषयमा केन्द्रित हुन चाहन्छु। यो मन्त्रालय अत्यन्त महत्वपूर्ण छ। मुलुकको शान्ति सुरक्षादेखि मुलुकमा भएका व्यथितिहरुलाई थितिमा ल्याउने मन्त्रालय हो।

त्यसैले यो मन्त्रालय महत्वपूर्ण भएकोले पनि मलाई लाग्छ, अहिलेको गृहमन्त्रीज्यूले नै यसलाई विशेष इच्छाका साथै गर्नु भएको होला।

मैले बुझे अनुसार, उहाँको दुई चोटी होः अगाडि ०७९ मा पनि गर्नु भएको छ, अहिले पनि उहाँ हुनु भएको छ। त्यसैले मैले के देखिरहेको छु भने, उहाँमा एउटा हुटहुटी छ। काम म कसरी गरौँ, के गरौँ, भन्ने कुराको उहाँको हुटहुटी छ।
हिँजो जसरी राजनीतिमा प्रवेश गर्नु भन्दा पहिला जुन हुटहुटी थियो, त्यो हुटहुटी उहाँमा अहिले पनि छ। त्यसलाई अन्यथा नलिई म स्वागतै गर्न चाहन्छु, तपाईको हुटहुटी, केही गरौँ, केही भइहालोस् भन्ने कुरा।

तर, यो पाल्र्यामेन्टभित्र आइसकेपछि माननीय गृहमन्त्रीज्यू, तपाईको हुटहुटीले कति काम गर्यो कि गरेन? त्यसबारे तपाईलाई चिन्ता छ कि छैन, मलाई थाहा छैन। तपाईको बारेमा मलाई चिन्ता छ, तपाईको हुटहुटी काम लाग्न सक्यो कि सकेन भन्ने कुरा म तपाईलाई भन्न चाहन्छु।

यो मुलुकको अवस्थालाई हेर्नुहुन्छ भने, आज वास्तवमा ट्रान्सपरेन्सी इन्टरनेशनल २०२३ को रिपोर्ट अनुसार, नेपालले आज ३५ अंक प्राप्त गरेको छ। र आज १८० राष्ट्रमा १ सय ८औं स्थामा हामी रहेछौँ।

ट्रान्सपरेन्सी इन्टरनेशनल अनुसार, ५० अंक भन्दा तलकोलाई के भनिन्छः अति भ्रष्टाचार व्याप्त मुलुक भनेर भनिन्छ।
मैले तपाईलाई भन्न मिल्छ कि मिल्दैन, म भन्न चाहन्न। तर, म आज के भएको छु भने, अति भ्रष्टाचार व्याप्त मुलुकको एउटा सांसदका रुपमा मैले बाँच्नु परेको छ। आज यो परिस्थिति आएको छ।

आज तपाईहरु मन्त्री बाँच्नु भा छ कि भा छैन, मलाई थाहा छैन आज मुलुक यो संवेदनशील अवस्थामा पुगेको बेला पनि मुलुकमाथि तपाइहरुले खेलवाड गरिरहेको फिल मलाई भइरहेको छ।

जहाँसम्म आज चर्चाकै विषयमा कुरा गरौँ, गृहमन्त्रीज्यूको पनि अलिकति खोतल्नु पनि पर्यो फेरि। यहाँ बोल्नु पनि पर्ने होला।

आज यो मुलुकमा कोही चर्चाको विषय छ भने, आज जिबी राई नै चर्चा विषय हुनुहुन्छ। यसमा म अरु कसैलाई दोष लगाउने पक्षमा छैन। जिबी राई किन चर्चित हुनु भयो भने, सहकारीबाटै चर्चित हुनु भयो। र गोरखा मिडियाबाटै चर्चित भएर आउनु भयो।

म भन्न चाहन्छु, हाम्रै माननीय गृहमन्त्रीजीले के भन्नु भयो भने, २०८० चैत्र १० गते, ‘जिबी राई आकाश होस् कि पाताल होस् समातेर ल्याउँछु,’ भन्नु भयो उहाँले।

गृहमन्त्रीजी यो कुरा यदा छ कि छैन? मैले मिति समेत भनेको छु, अन्यथा नमान्नु होला।
आज मैले भनेँ, राजनीतिमा आउनु भन्दा अगाडि जे जे कुरा उद्गार गर्नु भयो, त्यहि तरिकाले बोल्दा आज कहाँ गए त जिबी राई?

तपाइलाई थाहा छ कि थाहा छैन? म भन्छु फेरि, यसको ठिक ५० दिनपछि, २०८१ वैशाख २९ गते तपाइले भरतपुर विमानस्थलमा भन्नु भयो, ‘जिबी राईलाई अघिल्लो सरकारले भगाएको हो।’

त्यतिबेला को थियो प्रधानमन्त्री? सम्माननीय पुष्पकमल दाहाल हुनुहुन्छ। को हो गृहमन्त्री? माननीय नारायणकाजी श्रेष्ठ। नारायणकाजीजी तपाइकै अगाडि नै हुनुहुन्छ। (बैठकमा श्रेष्ठ मन्द मुस्कानका साथ टाउको हल्लाउँदै) आज कसरी भगाउनु भयो कि भएन अगाडिको सरकारले?

आज त्यसको दोष कसले लिने? सँगै ५० दिनपछि तपाइले भाषा फेर्नु भएको छ। यस्तै तरिकाले मुलुक चल्छ? यहि तरिकाले गृहमन्त्रालय चल्छ? यहि तरिकाले तपाइहरुले मुलुक हाँक्न सक्नु हुन्छ?

म अर्को कुरा भन्न चाहन्छु फेरि, तपाईले भन्नु भयो, तीन वटा फाइल खोल्यो भने, यो मुलुकका (मैले तपाइँकै भाषा प्रयोग गरेको छु है, सरी) तीन वटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्, संसदमा हुँदैनन् भन्नु भयो तपाइले। तपाइँले भनेको होइन भने, मसँग यही मोबाइलमा होला, रेकर्ड राखेकोे छु।

तर, अहिले डिप फेक भन्छन् भने, त्यो मलाई थाहा छैन। तर, यस्सो हेर्दा तपाइँकै अनुहार जस्तो लागिरहेको छ मलाई त्यसमा पनि।

तपाइँले के भन्नु भयो भने, ‘मुटु सिंहको जस्तो हुनुपर्छ, फिस्टा होइन’ भनेर भन्नु भयो। शब्दमा गडबड छैन।
म तपाइँलाई भन्न चाहन्छु, तीन वटा फाइल के हो? मलाई भन्नु पर्छ तपाइले। म पनि यो पाल्र्यामेन्टको एउटा सदस्य हुँ। तपाइले मलाई बताइदिनु पर्छ। आज म भन्छु, त्यी तीन वटा फाइल कुन कुन हुन्? ल भन्नुहोस्।

ल भन्नुहोस्, तपाई सक्नु हुन्छ? तपाइको शक्तिले भ्याउँछ कि भ्याउँदैन? त्यसैले म तपाइलाई भन्न चाहन्छु, किन ढिलो गर्नु भएको छ फाइल खोल्न? गृहमन्त्री तपाई हो। अरुलाई फिस्टाको मुटु भन्नु हुन्थ्यो। तपाई त सिंहको मुटु भएको मान्छे हो। के कारणले तपाई सुतिरहनु भएको अहिले? कि भन्नुहोस् कि म सिंह हुँ, सुतिराखेको छु अहिले भन्नुहोस्। उठेपछि जे पनि गर्छु भन्नुहोस्। जे पनि गर्ने त देख्खि हालियो।

तपाइहरुका क्रियाकलापले यो भन्दा अगाडि तपाइले देखिसक्नु भो। आज त्यो परिस्थिति के हो, त्यो पनि भन्नुहोस्।
आज म भन्छु, तपाई कसलाई धम्क्याइरहनु भएको छ? मलाई लाग्छ, तपाई सत्तामा बसेकाहरुबीच त सल्लाह गर्नु भएकै छ। तपाइले धम्क्याएको कांग्रेसलाई होला भन्ने मेरो अनुमान छ। अलिअलि म बुझ्न सक्छु।

म तपाइलाई स्मरण गराउन चाहन्छु, नेका संसदीय दलको २०८१ जेठ ७ गतेको बैठकले निर्णय गरेको छ। निर्णय नम्बर ३ हो। तपाइलाई पढ्न अप्ठयारो होला। माननीय रवि लामिछानेले नेपाली कांग्रेसका विभिन्न नेताहरुलाई लक्षित गरि दिएको अभिव्यक्तिको छानविन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन नेपाली कांग्रेस खुला रहेको यो बैठक ठहर गर्दछ।

ल नेपाली कांग्रेसले भन्यो, आफूले ल। ताकत छ, तीनवटा फाइल कसको हो? कुन कुन नेताको हो? हिक्मत छ?
त्यो कुरा पनि मैले नै भनिदिनु पर्ने हो भने पनि मलाई केही लाज छैन। यो मुलुकको सांसद भएका कारणले मैले भन्नु पर्ने अवस्था छ।

तपाइले निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्नु भएको थियो। ०७९ मा तपाइले पहिलो निर्णय गर्नु भयो। पत्ता लगाउनु भो? ल छानविन गर्नुहोस्। सफाई पाए बधाई दिउँला।

गिरीबन्धु टि–स्टेटका बारेमा छानविन गर्न तपाइको सिंहको मुटु छ? सक्नु हुन्छ तपाइले? त्यसैगरी क्यान्टोनमेन्टको घोटालाका बारेमा तपाइले छानविन गर्न सक्नु हुन्छ? तपाइले ओम्नी र यतिको बारेमा छानविन गर्न सक्नु हुन्छ?
 

त्यसैले म तपाइलाई भन्छु, यो अवस्था मुलुकको हो।

अब कुटनीतिक मामिलामा पनि आज मुलुक अत्यन्त संवेदनशील परिस्थितिमा रहेको छ। आज कालापानी हाम्रो हो। गुञ्जीदेखि सबै हाम्रो हो। तिरो तिरेको छ। सबै निर्वाचनमा भाग लागेको छ। तर, यहाँ सबै नोटमा लेखिने कुरा गरिन्छ। त्यो लेख्नु पर्छ, स्वागत योग्य छ। यहाँ पाठ्यपुस्तकमा लेख्ने कुरा स्वागत योग्य छ।

तर, भारतका प्रधानमन्त्रीलाई गएर कालापानी हाम्रो हो, हामीसँग प्रमाण छ भन्ने ताकत प्रधानमन्त्रीको हुनु पर्छ कि पर्दैन? आज नेपालभित्र एउटा कुरा, भारत गएर अर्को कुरा गर्ने परिस्थितिले नेपालको अवस्था यही भएको छ। कुटनीतिक मामिलाहरुमा पनि कुरा गर्दाखेरि कुनै प्रतिनिधि नराखेर व्यक्तिगत कुरा गर्ने कारणले पनि मुलुकको अवस्था अत्यन्त कमजोर छ। यसैले समय सकिएको छ, धन्यवाद, जय नेपाल।
 

 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update