हिमाल दैनिक
सहकारीको बचत हिनामिनाबारे मन्त्रालय र सहकारी बोर्डसँग छानविन समितिकाे छलफल

सहकारीको बचत हिनामिना तथा दुरुपयोगबारे छानविनका लागि गठित संसदीय छानबिन विशेष समितिले सहकारी मन्त्रालय, सहकारी बोर्ड लगाएत सम्बन्धी निकायसंग छलफल गरेको छ।

संसद भवन बानेश्वरमा मंगलबार बसेको छानविन समिति बैठकले समस्याग्रस्त सहकारीको अवस्था, कानूनी समस्या र नियमनको व्यवस्था लगाएतका बिषयमा सरोकारवाला निकायसंग छलफल गरेको हो।

बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यसचिवले लिखित प्रतिवेदन बुझाएको समिति संयोजक सुर्य थापाले जानकारी दिए।

बाँकी अनुसूचीमा रहेका २९ वटा समस्याग्रस्त सहकारीका बिषयमा सहकारी बिभागका तर्फबाट जानकारी लिइएको उनले बताए।

बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको र समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने पनि थापाले बताए।

त्यस्तै बजेटमार्फत पाँच लाखसम्मको बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्थाका बिषयमा सहकारीमन्त्रीसंग छलफल भएको बताइएको छ।

संयोजक थापाले निरन्तर छलफल गरेर तोकिएको समयमा नै प्रतिवेदन दिने गरि काम गर्ने जानकारी दिए।

पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको साहारा तथा काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा सहकारीको बचत रकम गैरकानूनी रुपमा गोरखा मिडिया नेटवर्क प्रा.लि.का संचालकद्वय जिबी राई र वर्तमान गृहमन्त्री रवि लामिछानेले लिएर रकम हिनामिना गरेको आरोप लगाउँदै कांग्रेसले सडक र सदनमा विरोध जनाएपसाछि सत्ता र प्रतिपक्षी दलबीच जेठ १५ गते संसदीय छानविन समिति गठनको सहमति भएको थियो।

सोही सहमति अनुसार, जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो। जसलाई संसदले तीन महिनाभित्र तोकिएको काम सम्पन्न गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update