हिमाल दैनिक
कांग्रेसको प्रश्नः जिबी राईको लोकेशन पत्ता लागेको हल्ला पक्रिनकै लागि हो कि भगाउन गरिएको स्टण्टबाजी?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न जिबि राईका बिषयमा गृहमन्त्री रवि लामिछानेले हालै दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएको छ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न जिबि राई मलेशियामा रहेको लोकेशन पत्ता लागिसकेको भन्ने अभिव्यक्तिपछि पनि उनलाई नेपाल नल्याइएको भन्दै जिबि राईका बिषयमा गृहमन्त्रीले स्टन्डबाजी गर्न खोजेको आरोप लगाए।

‘गएको असार ६ गते माननीय गृहमन्त्रीले चितवनमा पुगेर भन्नु भयो, कि म मलेसियाका गृहमन्त्री सैफुद्दिन इस्माइलसँग सम्पर्कमा छु। र जिबी राईको लोकेशन पत्ता लागिसकेको छ,’ शर्माले गृहमन्त्री लामिछानेको भनाइलाई गम्भीरतापूर्वक लिँदै थपे, ‘प्वाइन्ट टु बि नोटेड भन्छ नि सभामुख महादेय।’

उनले भने, ‘म दोहोर्याउन चाहन्छु सभामुख महोदय, प्वाइन्ट टु बि नोटेड, एउटा फरार अभियुक्त कहाँ छन् भनेर देशले खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौँ भनेर भन्छन्। सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ। सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको हो भनेर लेख्छन्, गोपनीयता खोल्दैनन्। तर, हाम्रो गृहमन्त्रीले चाहीँ के भने, गोप्य सूचनाको राजपत्रमा प्रकाशित गर्नमा बाहेक मिडियामा बिस्कुन लगाउनु हुन्छ।’

लामिछानेले दिएको विवादस्पद अभिव्यक्तिप्रति लक्षित गर्दै शर्माले आफूले पाँचवटा विषयमा केन्द्रित भएर सवाल उठाउन लागेको बताए।

उनले भने, ‘संसारलाई थाहा छ, कि गोरखा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन दुई जना मालिकमध्ये, एक जना फरार छन् अनि एकजना चाहि गृहमन्त्री हुनुहुन्छ। सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ। त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ? अभियुक्त पक्रने के यो नयाँ शैली हो? केटाकेटी पन हो? या भगाउने नियत हो?’
उनले देशलाई जिबी राईको लोकेशन चाहिएको नभई जिबी राई चाहिएको बताए। उनले थप्दै प्रश्न गरे, ‘अब त्यो लोकेशनमा गेट बनाएर, कार्पेट ओच्छ्याएर अनि बल्ल दुई पक्षिय वार्ता हुने हो?’

गृहमन्त्रीले लोकशन पत्ता लाग्यो भनि भनेको पनि चार दिन बितिसकेको बताउँदै विगतमा प्रतिपक्षमा हुँदा लामिछानेले सदनमा बोल्दै गर्दा ‘सरकारले पक्रिनै चाहेन। पक्रिन चाहेको भए यत्तिको समय किन लाग्छ?’ भनि प्रश्न गरेको बताए।
‘लोकेशन पत्ता लागिसकेपछि पनि पक्रिन चार दिन किन लाग्छ? मलेसियाको सरकारसँग समन्वय गरेर पक्रिन? शर्माले आपत्ति जनाउँदै सोधे, ‘लोकेशन पत्ता लागिसक्यो भनि मिडियाबाट फुकेको उनलाई भगाउनका लागि हो कि पक्राउ गरी ल्याउनका लागि?’

केही समयअघि गृहमन्त्री लामिछानेले मलेसियासँग नेपाल सरकारको सुपुर्दगी सन्धी नभएको कारण पनि जिबी राईलाई पक्रिएर नेपाल ल्याउन कठिनाई भएको भनि दिएको अभिव्यक्तिप्रति शर्माले यो कठिन कार्य भएपनि असम्भव कार्य नभएको उदाहरण दिए।

मलेसियाको सुपुर्दगी सन्धीको कानूनी व्यवस्थाबारे सदनलाई जानकारी दिँदै मलेसियाको कानूनी व्यवस्था अनुसार, कुनै पनि मुलुकले फरार अभियुक्तको विषयमा सप्रमाण पक्राउका लागि सम्बन्धित देशको कुटनीतिक माध्यमबाट लिखित पत्र दिएमा आफ्नो देशमा रहेको आरोपितलाई पक्राउ गरी सुपुर्दगी गर्न सक्ने बताए।

उक्त प्रावधान अनुसार, मलेसियाबाट कुनै पनि अपराधिलाई पक्राउ गरी ल्याउन सुपुर्दगी सन्धी नचाहिने दाबी गर्दै शर्माले भने, ‘त्यसैले यहाँ आँ, उँ, केही नगरीकन सरकार र गृहमन्त्रीले पहल गर्नु पर्दथ्यो।’

यसबारे सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले करिब १० वर्षअघि सुशील कोइराला प्रधानमन्त्री रहेको बेला २०७१ माघ १६ गते मलेसियासँग सुपुर्दगी सन्धीको अभावकै अवस्थामा पनि चितवनका राजकुमार चेपाङ्ग नाम गरेका एक व्यक्तिलाई मेलेसियन सरकारकै सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिए।

यसरी विगतमा प्रक्रिया पूरा गरी अभियुक्तलाई ल्याएपनि अहिले प्रक्रिया पूरा गरी जिबीलाई ल्याउने भन्दा पनि गृहमन्त्री स्टण्टबाजी मात्रै गर्न व्यस्त रहेको भन्दै दुःख व्यक्त गरे।

लामिछानेको नियत र नैतिकतामाथि प्रश्न उठाउन नचाहेको व्यंग्यात्मक टिप्पणी गर्दै शर्माले लामिछानेको नैतिकता भन्दा पनि नियतमाथि खोट रहेको बताए।

यसको उदाहरणका लागि शर्माले पोखराको सूर्यदर्शन सहकारीका पीडितहरु अदालतमा इजलासमा बहस सुन्न जाँदा पाँच जनालाई प्रवेश पास हुँदापनि प्रहरीले गेटमा रोकेको र भित्र इजलासमा रविका ‘डोर ग्याङ’का सदस्यहरु भने इजलासमै बसेको बताए।

यसैगरी शर्माले गृहमन्त्री लामिछानेले अनुसन्धानमा संलग्न प्रहरी अधिकृत अनुसन्धान प्रभावित गर्न सरुवा गरेको आरोप लगाए।

उनले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनाबारे छानविन र अनुसन्धानमा संलग्न एक अधिकृत सूर्यबहादुर मगरलाई सरुवाको अवधि नपुग्दै कास्कीबाट महोत्तरी सरुवा गरेकोमा गृहमन्त्रीले सदनमा झुट बोलको बताए।

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update