हिमाल दैनिक
प्रधानमन्त्री दाहाललाई गगनको सुझावः नटेर्ने मन्त्री फेर्ने, फेर्न नसके बालुवाटारबाट डेरा सर्ने!

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुलाई नटेर्ने मन्त्री फेर्न र फेर्न नसके आफैले बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

आइतबार प्रतिनिधि सभाको शुन्य समयमा थापाले संसदीय व्यवस्थामा आफुलाई नटेर्ने मन्त्रीलाई फेर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै त्यसो गर्न नसके बालुवाटारबाटै डेरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका हुन्।

उनले समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघीय सरकारको संवैधानिक दायित्व भएकोमा संघीय सरकारले स्थानीय तहलाई बकस जस्तो गरी तजबिजीका रुपमा लिएको आरोप लगाए।

स्थानीय तहलाई दिइने समानीकरण अनुदान ७     प्रतिशतले घटाउने सरकारको तयारी उचित नभएको भन्दै थापाले वडाको क्षेत्राधिकारभित्र पर्ने बजेट हाल्न नलजाउने सरकारले बजेट अभावको बहानामा स्थानीय तहको अनुदान कटौति गर्ने कार्य अस्विकार्य र असंवैधानिक भएको बताए।

यसै प्रसंगमा स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्रीलाई भेट्दै शतप्रतिशत अनुदानको माग राख्दा प्रधानमन्त्रीले आफ्नो मन भएपनि मन्त्रीले नमानेको गुनासो सुनाएको बताए।

प्रधानमन्त्री दाहालको उक्त भनाइप्रति लक्षित गर्दै थापाले भने, ‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो कि यो संसदीय व्यवस्था हो। यसमा के हुन्छ भने, नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए बालुवाटारबाट डेरा सर्ने।’

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update